भाजपा नेता चौथाइवाले र ओलीबीच भेटवार्ता


काठमाण्डु – भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवाले र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

चौथाइवालेले सोमबार बिहान ओली निवास बालकोट पुगेर भेटवार्ता गरेका हुन् । भेटमा उनीहरुबीच नेपाल–भारत सम्बन्धलाई अझ उचाइमा पुर्याउने विषयमा सकारात्मक छलफल भएको उनले बताएका छन् ।

ओलीसँगको भेटपछि ट्वीट गर्दै चौथाइवालेले भनेका छन्, ‘नेपालका पूर्वप्रधानमन्त्री तथा विपक्षी दलका नेता ओलीजीसँग आज बिहान काठमाडौंमा । हामीले नेपाल–भारत सम्बन्धलाई अझ अघि बढाउन सकारात्मक छलफल गर्‍यौं ।’

आइतबार काठमाण्डु आइपुगेका चौथाइवाले हिजो साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । चौथाइवालेले भेटमा प्रधानमन्त्री देउवालाई कार्यकालको सफलताको शुभकामना दिएको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाएका थिए । दुवैबीच भेटमा नेपाल–भारतको हित र अन्तरपार्टी सम्बन्धबारे समेत कुराकानी भएको थियो ।

देउवा प्रधानमन्त्री भएपछि भारतीय संस्थापन पक्षबाट भेट गर्न आउने उनी उच्च तहका नेता हुन् । उनलाई भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement