नेपाल र भारतबीचका समस्या संवादबाट समाधान गर्नुपर्छः प्रधानमन्त्री ओली


काठमाण्डु – भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

शुक्रबार दिउँसो बालुवाटारमा सेनाध्यक्ष नरवणेले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाल र भारतका बीचमा सदिऔं पुरानो विशिष्ठ सम्बन्ध रहेको र दुई देशका सेनाप्रमूखहरुलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको वताए ।

प्रधानमन्त्रीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवाद मार्फत समाधान हुने विश्वास ब्यक्त गरेका थिए ।

भेटमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राप्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराई र परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेललगायतको सहभागिता रहेको थियो ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि पदवी प्रदान गरेकी छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा भण्डारीले सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान गरेकी हुन् । बिहीबार नै सेनाध्यक्ष नरवणेले प्रधानसेनापति पूर्णचन्द थापासँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement