एमाले अध्यक्ष ओली र चिनियाँ नेता लिउबीच के-के भयो कुराकानी ?


काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच भेटवार्ता भएको छ ।

नेता लिउले आफ्नो टोलीसहित मंगलबार बिहान बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् । उनीहरुबीच बालकोटमा झण्डै दुई घण्टा द्विपक्षीय छलफल भएको थियो ।

भेटमा लिउले पछिल्लो पटक नेपालमा भइरहेका चीन विरोधी गतिविधिबारे ओलीसँग जिज्ञासा राखेको एमाले नेता राजन भट्टराईले जानकारी दिए । उनले दुई नेताको भेटमा दुई कम्युनिस्ट पार्टीको सम्बन्धलाई सुदृढ र बलियो बनाउनेबारेसमेत छलफल भएको बताए ।

उनले भने, ‘नेपालले अवलम्बन गर्दै आएको एक चीन नीतिका विषयमा नेता लिउले चासो राख्नुभएको थियो ।’ जवाफमा अध्यक्ष ओलीले आफूहरु एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका थिए । अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले भने, ‘नेपाली भूमि कुनै पनि मुलुकविरुद्ध प्रयोग हुन दिन्नौं, त्यो हाम्रो प्रतिबद्धता हो।’

ओलीले नेपालबाट चीन विरोधी कुनै पनि गतिविधि नहुने विषयमा लिउलाई आश्वस्त पार्ने प्रयत्न गरेका थिए । अध्यक्ष ओलीले अहिले नेपालमा भएजस्ता चीनविरोधी गतिविधिहरु आफू प्रधानमन्त्री भएका बेला नभएको भन्दै चिनियाँ प्रतिनिधिमण्डलको ध्यानाकर्षण गराएको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement