राष्ट्रिय सुरक्षाको सबैभन्दा बलियो किल्ला भनेको जनता हुन् : प्रधानमन्त्री ओली


काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डता र सुरक्षामा धावा बोल्नेमाथि सरकारले कडा नीति लिने बताएका छन् । राष्ट्रिय सुरक्षा परिषदको १७ औं सचिवालय बैठकलाई सिंहदरबारमा सम्बोधन गर्दै उनले कहिले जनताका नाममा त कहिले जातिका नाममा आतंक मच्चाउनेहरुलाई नछाडिने चेतावनी दिएका हुन्।

जानेर होस् वा नजानेर जुनसुकै उद्देश्य लिएको भए पनि  राष्ट्रिय अखण्डतामाथि समेत धावा बोल्ने देशद्रोही आपराधिक र अनुचित क्रियाकलाप देखापरेको भन्दै प्रधानमन्त्री अाेलीले नेपालको राष्ट्रिय सुरक्षाको प्रश्न उन्नतस्तरमा पुगेको बताए ।  नागरिक, देश र स्वाभिमानलगायत समग्र सुरक्षासम्बन्धी अवधारणामा आज नेपाल उन्नतस्तरमा पुगेको उनकाे दावी थियाे ।

राष्ट्रिय सुरक्षा र विकासको प्रश्नमा जनताको अवधारणा र मानसिकता के छ भन्ने कुरा महत्वपूर्ण हुने बताउँदै प्रधानमन्त्री ओलीले हाम्रा सुरक्षा अंगले निकै महत्वपूर्ण योगदान गरेको दावी गरे ।

राष्ट्रिय सुरक्षा बलियो बनाउन सबैभन्दा पहिला जनतामा राष्ट्रियताको भावना प्रवद्र्धन गर्न आवश्यक रहेको बताउँदै उनले भने, ‘राष्ट्रिय सुरक्षाको सबैभन्दा बलियो किल्ला भनेका जनता हुन्, त्यसका लागि जनता राष्ट्रिय हित र सार्वभौमसत्ताप्रतिको अडान तथा भौगोलिक अखण्डता र स्वाभिमानप्रति दृढ हुनुपर्छ ।’

कार्यक्रममा रक्षामन्त्री ईश्वर पोख्रेल, अर्थमन्त्री डा युवराज खतिवडा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल लगायतको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement