काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली नेकपा एमालेका शीर्ष नेताहरु लिएर बुढानिलकण्ठ पुगेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री ओली एमालेका शीर्ष नेतालाई लिएर बुढानिलकण्ठ पुगेका हुन् । सभापति देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री ओलीसहितका नेता बुढानिलकण्ठ पुगेको पुष्टि गरेका छन् ।
प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसहितका नेता बुढानीलकण्ठ पुगेका हुन् ।
प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेका छन् । सोहीअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख २७ गतेका लागि प्रतिनिधि सभाको बैठकआह्वान गरेकी छन् ।
मंगलबार नेपाली कांग्रेसको पदाधिकारी बैठक बसेको थियो । बैठकले प्रधानमन्त्रीको विश्वासको मतलाई विफल पार्ने निर्णय गरेको थियो ।
कांग्रेस, माओवादी केन्द्र, जसपाको बाबुराम भट्टराई–उपेन्द्र यादव समूह प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताउँदै आएका छन् । एमालेकै माधवकुमार नेपाल समूहले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताउँदै आएको छ ।




प्रतिक्रिया