सरकार ढल्दैन भनेर किन दोहोर्‍याइरहन्छन् ओली र देउवा

सरकार ढल्दैन भनेर किन दोहोर्‍याइरहन्छन् ओली र देउवा


काठमाण्डु – नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकार सुविधाजनक बहुमतमा छ । यी दुई पार्टी मिल्दासम्म कसैले पनि सरकार ढाल्न सक्ने अवस्था छैन ।

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सांसद आवश्यक पर्छ । कांग्रेससँग ८८ र एमालेसँग ७९ गरी १६७ सांसद छन् । यो भनेको सुविधाजनक बहुमत हो । तर, प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार नढल्ने, एक–अर्कालाई अविश्वास गर्नुपर्ने अवस्था नरहेको भन्दै सार्वजनिक कार्यक्रममा बताउँदै आएका छन् ।

कांग्रेसका सभापति देउवाले पोखरामा जारी पार्टीका ७७ जिल्लाकै सभापति र प्रशिक्षण विभागका प्रमुखहरूको अभिमुखीकरण कार्यक्रममा मंगलबार सत्ता साझेदार दल एमालेलाई अविश्वास गर्नुपर्ने कारण नरहेको बताए । देउवाले प्रधानमन्त्री ओलीको प्रशंसा गर्दै भने, ‘वास्तवमा भन्ने हो भने ओली र म सँगै जेलमा बसेको साथी हौँ । धेरै दुःख, कष्ट थियो, छुट्ने सम्भावना हुँदैनथ्यो । झापा काण्डको कारण देखाएर जेलभित्रको पनि जेलमा राखियो । हामी मुख्य प्रतिस्पर्धी हौँ, तर पनि केपी ओलीलाई अविश्वास गर्नुपर्ने कुरा छैन ’

अहिलेको गठबन्धन सरकार स्थायित्वका लागि भएको दाबी देउवाको थियो । ‘दुई प्रमुख प्रतिस्पर्धी पार्टीहरूबीच गठबन्धनबाट सरकार बनाउने कुरा कसरी आयो भन्ने पनि आवाज उठेका छन् । अहिलेको बेला मात्रै होइन, धेरै वर्षसम्म एमाले र कांग्रेसबीच सहमति भयो भने राजनीतिक स्थिरता स्थापित हुन सक्दछ । कतिबेला सरकार ढल्ने हो, कति दिन चल्ने हो भन्ने पनि थाहा हुँदैन । दुईवटा पार्टी मिलेर सरकार बनेको छ, यसको स्थायित्व स्पष्ट छ,’ देउवाले भने ।

देउवा मात्रै होइन प्रधानमन्त्री ओली पनि कांग्रेसलाई अविश्वास गर्नुपर्ने कुनै कारण नरहेको बताउँदै आएका छन् । १४ माघमा भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रसाशीयक भवन उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार अहिले ढल्यो, भरे ढल्यो भनेर कसैले छाति पिट्नु र बिलौना गर्नुको कुनै विकल्प नभएको बताए ।

‘सरकार अहिले ढल्यो, भरे ढल्यो भनेर कसैले छाति पिट्नु र बिलौना गर्नुको कुनै विकल्प छैन । नेपाली काँग्रेस र नेकपा (एमाले)ले अब देशलाई स्थिरता दिने संकल्प गरिसकेका छन् । यसमा ढुक्क भए हुन्छ,’ ओलीले भनेका थिए ।

प्रधानमन्त्री ओलीले पूर्व सहमतिअनुसार अहिले आफूले काँग्रेसबाट पूराका पूरा साथ पाएको र भोलि काँग्रेस नेतृत्वको सरकारलाई पनि एमालेले पूराका पूरा साथ दिने बताउन भ्याए ।

प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्ने नाममा सीमित संख्या भएकाहरुको मोर्चा शक्ति बनाए भनेर चेतावनी दिनेहरुको भ्रमबाट मुक्त हुन पनि आग्रह गरे ।

ओली र देउवाले गठबन्धन आगामी निर्वाचनसम्म रहने यसअघिका धेरै सार्वजनिक कार्यक्रममा बताइसकेका छन् । सहज बहुमत हुँदाहुँदै कि उनीहरूले सबैलाई सुनाइरहेका छन् यस्ता अभिव्यक्ति ? यसबारे हामीले कांग्रेस र एमालेका नेताहरूलाई सोध्दा अनौपचारिक रूपमा पार्टीभित्रबाटै गठबन्धनबारे अनेकन टिप्पणी आइरहेकाले त्यसलाई चिर्न उनीहरूले सार्वजनिक अभिव्यक्ति दिएको जवाफ आयो ।

कांग्रेसमा डा. शेखर कोइरालालगायतका नेताहरूले वर्तमान गठबन्धनले जनचाहना अनुसारको काम गर्न नसकेकाले आशा गर्ने ठाँउ नरहेको बताउँदै आएका छन् । कांग्रेसको संस्थापन इतर समूह यो गठबन्धनसँग त्यति सन्तुष्ट छैन ।

एमालेको पनि एउटा तप्का कांग्रेससँगको गठबन्धन टुटाएर कम्युनिष्टहरूलाई एक बनाउने अभियान चलाइरहेको छ । एमाले निकट स्रोतहरू भन्छन्, ओलीसँग असन्तुष्ट नेताहरू गठबन्धन भत्काउने प्रयासमा छन् ।

दुबै पार्टीभित्रका गठबन्धन विरोधीलाई जवाफ दिन प्रधानमन्त्री ओली र देउवा बोलिरहेका नेताहरूको बुझाइ छ ।