यी हुन चिनियाँ मन्त्रीसामु एमाले अध्यक्ष ओलीले उठाएका आधा दर्जन विषय


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेका छन् । आइतबार नक्सालस्थित होटल मेरियटमा भएको भेटमा अध्यक्ष ओलीले बेल्ट एन्ड रोड इनिसिएटिभ(बीआरआई)अन्तर्गतका परियोजना छिटो अघि बढाउनेसहित नेपाल सरोकारका आधा दर्जन विषय छलफलमा उठाएका छन् ।

दुई शीर्ष नेताबीच भएको भेटमा अध्यक्ष ओलीले परियोजनाहरुलाई चाँडो अघि बढाउन आवश्यक रहेको बताएको भेटमा सहभागी एमाले नेता राजन भट्टराईले जानकारी दिए । ‘दुई पक्षीय मामिलाका सबै विषयमा कुराकानी भए । नेपाल चीनबीचका समझदारी, बीआरआई अन्तर्गतका योजनाहरु अघि बढाउन र गति दिनका लागि अध्यक्ष ज्यूले जोड दिनुभयो,’ उनले भने ।

करिब ५० मिनेट भएको छलफलमा अध्यक्ष ओलीले बन्द रहेका नाकाहरु खोल्न, कोरोनाका कारण बीचमै अध्ययन छाडेर नेपाल फर्किएका विद्यार्थीहरुले अध्ययन पूरा गर्ने वातावरण बनाउन, हुम्लाको सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई फर्किने वातावरण बनाउन, कोरोला नाकामा भौतिक पूर्वाधार विकास, कोभिडको नियन्त्रणका लागि सहयोग लगायतका विषय उठाएको नेता भट्टराईले बताए ।

उनका अनुसार अहिले नेपालीले भोगिरहेका समस्याका विषयमा पनि चिनियाँ विदेशमन्त्रीसँग आग्रह गरिएको छ । त्यस्तै विभिन्न कारणले परियोजनाहरुले गति लिन नसकेको अवस्थामा खासगरी बीआरआई अन्तर्गतको परियोजना छिटोभन्दा छिटो अघि बढाउने विषयमा पनि एमालेले ध्यानाकर्षण गराएको छ । प्रतिउत्तरमा चिनियाँ विदेशमन्त्री वाङले सबै विषयलाई सकारात्मक रुपमा लिएको र सामाधान लागि प्रयास जारी रहने प्रतिवद्धता जनाएका छन् ।

तीन दिने भ्रमणका क्रममा शुक्रबार काठमाण्डु ओर्लिएका वाङ आजै स्वदेश फिर्ता भइसकेका छन् । उनले नेपाल बसाईका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री नारायण खड्का लगायतका नेताहरुसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement