काठमाण्डु – पूर्व सभामुख कृष्णबहादुर महराले पार्टीको सम्पूर्ण सक्रिय पदीय जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन् ।
बिहीबार वक्तव्य जारी गर्दै महराले विगत ४८ वर्षदेखि नेपाली कम्युनिष्ट आन्दोलनमा निरन्तर सक्रिय रहँदै आएकोमा स्वास्थ्य अवस्थाका कारण पार्टीको पद त्याग्दै अबदेखि साधारण सदस्यको रूपमा मात्र रहने निर्णय गरेका हुन् ।
उनले केही वर्षयता आफू एट्रोफी सम्बन्धी रोगबाट पीडित रहेको र स्वास्थ्य अवस्थाले अपेक्षित साथ नदिएका कारण पार्टीको नियमित गतिविधि र जिम्मेवारीहरूमा विगतझैं सक्रिय रूपमा योगदान गर्न कठिन भएको उल्लेख गरेका छन् ।
महराले आफ्नो वक्तव्यमा साढे ४ दशकभन्दा लामो राजनीतिक यात्राका विभिन्न चरण, उतारचढाव र संघर्षका कथाहरू स्मरण गरे । नेकपा चौथो महाधिवेशन, नेकपा मशाल, नेकपा एकता केन्द्र, नेकपा माओवादी, एनेकपा माओवादी, नेकपा माओवादी केन्द्र हुँदै हालको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सम्म आइपुग्दा आफ्नो क्षमता, समय र जीवनको महत्वपूर्ण हिस्सा पार्टी, आन्दोलन, देश र जनताको सेवामा समर्पित गरेको उनले स्मरण गरे ।
नसाहरू र मांसपेशीहरू क्रमश: खुम्चिँदै जाने ‘एट्रोफी’ रोगका कारण नियमित उपचार, थेरापी तथा औषधि सेवन गरिरहेको जानकारी दिँदै महराले भनेका छन्, ‘निकै गह्रौँ मनका साथ आजकै मितिदेखि पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्य रहने निर्णय गरेको जानकारी गराउन चाहन्छु । यो निर्णय कुनै असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई केवल स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यात्मक परिस्थितिको परिणाम हो ।’
उनले शरीर कमजोर भए पनि देशप्रतिको चिन्ता, जनताप्रतिको माया र समृद्ध नेपालको सपना अन्तिम श्वाससम्म जीवित रहने प्रतिबद्धता उनले व्यक्त गरे । पार्टी जीवनको अन्तरसंघर्ष, नेतृत्व निर्माण र नेपालको राष्ट्रिय स्वाधीनताको सवालमा आफू सधैँ इमानदार र प्रतिबद्ध रहेको दाबी गर्दै उनले नयाँ पुस्ताका ऊर्जावान युवाहरूले देशलाई अझ समृद्ध, आत्मनिर्भर र सम्मानित राष्ट्रका रूपमा स्थापित गर्ने दृढ विश्वास व्यक्त गरे ।
वक्तव्यमा उनले आफ्नो लामो राजनीतिक यात्रामा साथ, सहयोग, सद्भाव र विश्वास प्रदान गर्ने सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।





प्रतिक्रिया