उपत्यकामा यस्तो छ अवैध हतियारको विगविगी


काठमाडौँ – प्रहरी परिसर काठमाडौंबाट खटिएका डीएसपी अनिल ठकुरीको टोलीले बुधबार राति ठमेलबाट एक थान पेस्तोलसहित दुई जनालाई पक्राउ गर्‍यो । काभ्रेको झैटी देउराली घर भई सीतापाइला बस्ने देवकुमार थापा र धादिङ ज्वालामुखी ३ घर भएका कमल गुरुङलाई प्रहरीले एक थान कटुवा बन्दुक र १ थान खुकुरीसहित पक्राउ गर्‍यो ।

प्रहरीका अनुसार यी दुवै गुन्डा समूह राधेसँग निकट थिए । प्रहरीले दुवैमाथि हतियार देखाएर ठमेल र ज्याठालगायत क्षेत्रमा होटल तथा रेस्टुरेन्ट व्यवसायीबाट रकम असुल्ने गरेको आरोप लगाएको छ ।

हतियारको बलमा गुन्डागर्दी गरेको आरोपमा प्रहरीले पछिल्लो एक सातामा ७ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ परेका सबैको साथबाट हतियार बरामद भएको छ भने त्यसैको बलमा उनीहरूले गुन्डागर्दी, ठेक्का हात पार्ने र हप्ता असुली गरेको प्रहरीको आरोप छ । २७ जेठमा मात्रै महानगरीय प्रहरी अपराध महाशाखाले जिल्ला प्रशासन कार्यालयबाट इजाजत लिएर राखिएका हतियार दुरुपयोग गरेको आरोपमा ४ जनालाई पक्राउ गर्‍यो । महाशाखाले मिटर ब्याजको धन्दा गर्ने वीरेन्द्रलाल श्रेष्ठ, मेनपावर व्यवसायी रघुनाथ पुरी, गुन्डागर्दीमा संलग्न काजी शेर्पा र क्यासिनोमा मिटर ब्याजको धन्दा गर्ने बले भनिने बलराम सापकोटालाई पक्राउ गर्‍यो । विभिन्न मितिमा हातहतियार तथा खरखजाना ऐनअन्तर्गत अनुमति लिएर राखिएका हतियारको त्रास उत्पन्न गराउन हतियार देखाएर ठेक्का कब्जा गर्न र गैरकानुनी रूपमा मिटर ब्याजमा रकम लगाउन प्रयोग गरिएको भन्दै महाशाखाले चारै जनाको हतियार राख्ने इजाजत रद्द गरेको थियो ।

सोमबार मात्रै महानगरीय अपराध महाशाखाले ललितपुरको यूएन पार्कनजिक गोली हानी अशोक लामालाई पक्राउ गर्‍यो । प्रहरीले लामाको साथबाट पेस्तोल र २ राउन्ड गोलीसमेत बरामद गरेको जनाएको छ । महाशाखाका अनुसार लामाले पनि हतियारको बलमा सातदोबाटोदेखि भैंसेपाटी क्षेत्रका घरजग्गा व्यवसायीलाई धम्क्याएर रकम असुल्ने गरेको आरोप लगाएको छ । प्रहरीका अनुसार काभ्रेली गुन्डा समूहमा रहेर सक्रिय भएका लामा मिटर ब्याजको धन्दामा समेत सामेल थिए । लामामाथि यसअघि पनि कर्तव्य ज्यान र सार्वजनिक अपराधको मुद्दा चलेको थियो ।

पछिल्लो एक सातामा भएका यी तीन फरक घटनाले बन्दुकको आडमा कसरी गुन्डागर्दी र अवैध असुलीको धन्दा उपत्यकामा चलिरहेको छ भन्ने बुझाउँछ । अपराध महाशाखाका एक प्रहरीका अधिकारीका अनुसार राजधानीमा सक्रिय अधिकांश गुन्डा समूहसँग आफ्नै बन्दुक छ । प्रहरीले कतिपय गुन्डा समूहले हतियार भाडामा लगाउने गरेको र भाडाको बन्दुककै भरमा करकापमा पारेर रकम असुल्ने वा अवैध धन्दा सञ्चालन गर्ने क्रम जारी छ । प्रहरी परिसर काठमाडौंले गरेको अनुमानमा काठमाडौंमा मात्रै करिब २ हजारको संख्याका अवैध बन्दुक छन् ।

अपराध महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंह इजाजतप्राप्त व्यक्तिले लिएका हतियार के काममा उपयोग भइरहेको छ भन्नेबारे अनुसन्धानको खाँचो रहेको बताउँछन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement