नवराज सिलवालका कारण काठमाडौं प्रहरी प्रमुख हटाइए


काठमाडौं– काठमाडौं प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकलाई हटाइएको छ । गृहमन्त्रालय स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा धानुकलाई काठमाडौं प्रहरी प्रमुखबाट हटाइएको हो ।

एमाले सांसद एंवम् नेपाल प्रहरीका पूर्व डिआईजी नवराज सिलवाललाई मुद्दा नचलाउने अडान लिएपछि धानुकको सरुवा गरिएको हो । उनको ठाउमा एसएसपी विश्व पोखरेललाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ । एसएसपी पोखरेल पनि किर्ते प्रकरणमा मुछिएका प्रहरी अधिकृत हुन् ।

धानुकको संघीय प्रहरी इकाइ कार्यालय बाग्लुङ सरुवा भएको छ भने काठमाडौं प्रहरी परिसरको मुद्दा शाखामा कार्यरत डिएसपी बेल पाण्डेलाई दिपायल सरुवा गरिएको छ ।

किर्ते गरेको आरोपमा मुद्दा खेपिरहेका सिलवाललाई पक्राउ गर्न धानुकमाथी चर्को दबाव थियो । एसएसपी धानुक दबाव छल्न आईतबारदेखी पांच दिन बिदामा बसेका थिए । किर्ते प्रकरणमा आरोपित सिलवाल पक्राउ नगरी प्रहरीले मुद्दा ल्याएको भन्दै सरकारी वकिल कार्यालयले उनको मुद्दा फिर्ता गरेको थियो ।

धानुकको ठाउमा जिम्मेवारी पाएका पोखरेल महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा कार्यरत छन् । नेपाल प्रहरीका एआईजी जयबहादुर चन्दले काठमाडौै प्रहरी प्रमुख परिर्वतन भएको पुष्टी गरेका छन् ।

फोटोःनेपाल लाइभबाट

प्रतिक्रिया दिनुहोस
Advertisement