विदाको दिन कुलमानलाई लिएर उर्जामन्त्री किन् पुगे स्युचाटार ?


काठमाडौं– ऊर्जा, सिंचाई तथा जलस्रोत मन्त्री वर्षमान पुनले वैशाख भित्रै औद्योगिक क्षेत्रमा हुंदै आएको लोडसेडिङ हटाउन निर्देशन दिएका छन् । नेपाल विद्युत प्राधिकरणको भार प्रेषण केन्द्रको शनिवार सांझ निरीक्षण गर्दै मन्त्री पुनले वैशाख अन्त्यबाटै औद्योगिक क्षेत्रमा लोडसेडिङ नहुने वातावरण मिलाउन कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।

नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङकाअनुसार हाल औद्योगिक क्षेत्रमा ४ घण्टा लोडसेडिङ भइरहेको छ । औद्योगिक क्षेत्रमा लोडसेडिङ हटाउने बारेमा प्राधिकरण प्रमुख घिसिङ र उर्जामन्त्री पुनबीच पटक–पटक छलफल भएको थियो । मन्त्री पुनले उर्जामन्त्रीको रुपमा पदभार ग्रहण गरेलगत्तै यो समस्या कसरी हल गर्ने भन्ने विषयमा छलफल सुरु गरेका थिए ।

माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री पुनले आईतबार नयां वर्षमा नयां सन्देश जाने गरी औद्योगिक क्षेत्रमा समेत लोडसेडिङ हटाउने गरी तयारी थाल्न निर्देशन दिएका हुन । मन्त्री पुनको निर्देशनपछि भारप्रेषण केन्द्रका कर्मचारीले भोलीदेखी नै त्यसमा काम सुरु गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

‘देशमा नयां सरकार आएको छ, जनताको ठुलो आशा पनि यो सरकारप्रति छ , तपाईहरुको कुरा सुन्दा वैशाख भित्रै औद्योगिक क्षेत्रमा समेत लोडसेडिङ हटाउन् सकिने रहेछ भन्ने थाहा भयो ,भोलीदेखी नै योजना निर्माण गरेर लाग्नुहोस । यसबाट नयां वर्षमा नयां सन्देश पनि जान्छ ।’ मन्त्री पुनले कर्मचारीलाई निर्देशन दिंदै भने ।

मन्त्री पुनलाई प्राधिकरण प्रमुख घिसिङले २ सय मेगावाट विद्यूत थप भए लोडसेडिङ अन्त्य हुने बताएका थिए । चैतको अन्तिममा हिंउ पग्लिएर पानीको बहाव बढ्ने भएकाले आन्तरिक उत्पादन बढ्ने केन्द्रका कर्मचारीको दाबी छ । त्यसका साथै लोडसेडिङको समाधानको लागी अन्य उपायको समेत खोजी गरिने उनिहरुले बताएका छन् ।

लोडसेडिङको समस्याको बारेमा गुनासो आएपछि आईतबार विदाको दिन उर्जामन्त्री पुनसंगै ऊर्जासचिव अनुपकुमार उपाध्याय र कार्यकारी निर्देशक घिसिङ भार प्रेषण केन्द्र स्युचाटार पुगेका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement