कुलमानलाई भ्रष्टाचार आरोप लगाउने नेकपा सांसद मोदीको यस्तो स्वार्थ


काठमाडौँ— सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद अमनलाल मोदीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भ्रष्टाचार आरोप लगाउनुको रहस्य खुलेको छ।

संघीय संसदको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा मोदीले सांसद मोदीले २५ मेगावाटको सोलार प्लान्ट र कोशी करिडोर प्रसारण लाइनको ठेकेदार छनौटमा भ्रष्टाचार भएको आरोप लगाए । त्यति मात्र होइन उनले भने, ‘आफ्ना विद्युत गृहबाट उत्पादन नगरी कमिसन खाँदै भारतबाट बढी विद्युत् आयात गरिएको छ । त्रिशुली ३ बी सबस्टेसन अवरोध गरेको भन्दै स्थानीयलाई थर्काउने ? उहाँको दम्भ बढ्दै गएको छ ।’

मोदीको आरोप थियो, डेडिकेटेड फिडर तथा ट्रंक लाईन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब बढी भ्रष्टाचार भएको छ। त्यसको जवाफमा घिसिङले नेपाल विद्युत प्राधिकरणभित्र प्राधिकरणले बिलिङ गर्दा कुनै गल्ती गरेको भए त्यसलाई छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन दुई वटा छानबिन समिति गठन गरेर कामलाई अघि बढाइएको बताए । उनले आफूमाथि लागेको आरोप प्रमाणित भए आफू झुण्डिएर मर्न तयार रहेको समेत बताए।

मोदीको स्वार्थ
नेपालमा लोडसेडिङ अन्त्य गरेर ख्याति कमाएका घिसिङलाई मोदीले भ्रष्टाचार आरोप लगाउनुको कारण उनकै निर्वाचन क्षेत्रको विषय हो।
मोरङबाट चुनाव जितेका मोदीको निर्वाचन क्षेत्रमा नेपाल विद्युत प्राधिकरणले केही महिना अघि नै कटहरी सबस्टेसन सम्पन्न गरेको थियो।

तर, दुहवी सबस्टेसनबाट लगिएको ३३ केभी प्रसारण लाइन निर्माणमा मोरङको ग्रामथाम गाउँपालिकाको गिदनियामा स्थानीयको अवरोधका कारण काम अगाडि बढ्न नसकेका बेला मंगलबार घिसिङ र मोदीबीच चर्काचर्की परेको हो।

२०७४ को चुनावमा त्यस क्षेत्रका उद्योगीले मोदीलाई असहयोग गरेका कारण नै उनले स्थानीय बासिन्दा परिचालन गरेर आयोजनाको काम रोकेको विद्युत प्राधिकरणको आरोप छ ।

प्राधिकरणका अनुसार स्थानीयको अवरोधका कारणले गर्दा दुहवीबाट सबस्टेसन संचालन गर्न सकिएको छैन, भने पोलमा साढे तीन किलोमिटर तार तान्न सकिएको छैन।

यद्यपि, सांसद मोदी प्राधिकरणले स्थानीयको चित्त बुझाउने काम अगाडि बढाउनुपर्ने दाबी गर्छन।

प्रतिक्रिया दिनुहोस
Advertisement