विवादास्पद छवि भएका ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने तयारी


काठमाण्डु – सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा विवादास्पद छवि भएका ल्यारक्याल लामालाई नियुक्त गर्ने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले उनको नियुक्तीको प्रक्रिया अघि बढाउन पर्यटन मन्त्रालयलाई भनेको स्रोतले जानकारी दिएको छ ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले लामालाई कोषको उपाध्यक्ष बनाउने विषयमा छलफल भएपनि निर्णय भने भएन । लामालाई कोषको उपाध्यक्ष बनाउन नहुनेमा पर्यटनमन्त्री किराती छन् । उनी आनि छोइङको पक्षमा रहेको स्रोतको दावी छ ।

कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा, यसअघिका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तेय), सिद्धार्थ महर्जन र कोषका पूर्वसदस्य भिक्षु कुन्डय र स्थानीय सुमार्ग भिक्षु दौडमा छन् । तर, प्रधानमन्त्री दाहाल भने बारम्बार विवादमा तानिएका लामालाई कोषको उपाध्यक्ष बनाउनेमा छन् । उनलाई माओवादी उपमहासचिव वर्षमान पुनको समेत साथ छ ।

यस्तो छ विवादास्पद छवि भएका लामाको विगत

नेकपा एमालेबाट राजनीतिमा उदाएका लामा दोस्रो संविधानसभाको चुनावमा माओवादीमा प्रवेश गरेका हुन् । नेकपा माओवादी केन्द्रले लामालाई दोस्रो संविधानसभाको चुनावमा समानुपातिक सांसद बनायो । लामालाई चिनियां दबावमा त्यतिबेला सांसद बनाइएको आरोप थियो ।

उनीमाथि नक्कली नागरिकता र राहदानी बनाएको आरोप लागेको थियो । २०७३ वैशाखमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा समेत दायर गरेको थियो । १० करोड रुपैयाँको मागदावी लिएर दायर गरेको मुद्दामा लामा एक करोड रुपैँया धरौटी तिरेर छुटेका थिए । दोहोरो नागरिकता र राहदानी विवादमा मुछिएका लामा २०५८ साल पुस १९ गते गुम्बा विकास समितिको अध्यक्षमा नियुक्त भएका थिए । लामासंग अरु देशको समेत नागरिकता र पासपोर्ट छ ।

लामा बैंकको लकरमा १४ राउण्ड गोली भेटिएपछि २०७२ फागुन ३० गते पक्राउ समेत परेका । गोली काण्डको आरोपमा ९ दिन र वैदेशिक रोजगारको मुद्दामा थप दुई दिन गरेर ११ दिन प्रहरी हिरासतमा बिताएका लामा माओवादीकै दबाबमा छुटेका थिए ।

गोलीकाण्डमा ६६ हजार धरौटी तिरेर जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट छुटेका थिए भने वैदेशिक रोजगारको मुद्दामा ३० लाख धरौटी माग गरेर तारेखमा छाडिदिएको थियो ।

त्यस्तै पदमा रहँदा लामाले आफ्नो अधिकारको दुरुपयोग गरी गैरकानूनी रुपबाट सम्पत्ति आर्जन गरी पदीय हैसियत अमिल्दो उच्चस्तरको जीवनयापन आरोपमा अख्तियारले समेत छानविन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement