सिजनको पहिलो ‘एल क्लासिको’ मा रियलको बाजी


एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत सिजनको पहिलो ‘एल क्लासिको’ भिडन्तमा रियल म्याड्रिडले बाजी मारेको छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा आइतबार अबेर सम्पन्न खेलमा पाहुना टोली रियलले बार्सिलोनालाई २–१ गोलले हरायो ।

रियललाई जिताउन डिफेन्डर डेभिड अलाबा र लुकास भाजक्वेजले गोल गरे । बार्सिलोनाका सर्जियो एग्युरोले सानत्वना गोल फर्काएका थिए । प्रतिस्पर्धात्मक खेलमा रियलले ३२औं मिनेटमा अलाबाको गोलबाट अग्रता लिएको थियो ।

अलाबाले रोड्रिगोको पासलाई नियन्त्रणमा लिँदै डिबक्स बाहिरबाट सोझै गोल गरेका थिए । आलाबाको शसक्त प्रहारलाई बार्सिलोनाका गोलरक्षक मार्क–आन्द्रे टेर स्टेगनले बचाउन सकेनन् । रियलका लागि अलाबाको यो पहिलो गोल हो । उनी यसै सिजन जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिखबाट रियल आएका हुन् ।

रियलले दोस्रो गोल दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा गरेको थियो । भाजक्वेजले रिवाउन्ड बलमा उत्कृष्ट गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । त्यसपछि सात मिनेट इन्जुरी समयको अन्तिम मिनेटमा बैकल्पिक खेलाडी एग्युरोले सात्वना गोल फर्काए । एग्युरोले सर्जिनो डेस्टको पासमा गोल गरेका थिए ।

उनी ७४औं मिनेटमा अन्सुु फातीको स्थानमा मैदान छिरेका हुन् । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीबाट यसै सिजन बार्सिलोना आएका एग्युरोको पनि टोलीका लागि यो पहिलो गोल हो । अभ्यासमा क्रममा चोट लागेका उनी लामो समय मैदान बाहिर थिए ।

खेलमा रियलले ५२ प्रतिशत बल पोसेसन राख्दै १२ वटा पोस्ट प्रहार गरेको थियो । ४८ प्रतिबल बल नियन्त्रणमा राख्न सफल बार्सिलोनाले १० वटा पोस्ट प्रहार गरेपनि हार टार्न सकेन । रियलका भिनिसियस जुनियर ‘म्यान अफ दी म्याच भए

जितसँगै रियल दोस्रो स्थानमा छ । नौ खेलमा ६ जित, दुई बराबर र एक हार खेपेको रियलको २० अंक छ । पराजित बार्सिलोना १५ अंक सहित नवौं स्थानमा छ । शीर्षस्थानमा रहेको रियल सोसिडाडको १० खेलबाट २१ अंक पुगेको छ ।

आइतबार रातिनै भएको खेलमा सोसिडाड साविक विजेता एट्लेटिको म्याड्रिडसँग २–२ गोलको बराबरीमा रोकिएको थियो । बराबरीसँगै १८ अंक बनाएको एट्लेटिको म्याड्रिड चौथो स्थानमा छ । तेस्रो स्थानमा रहेको सेभियाको २० अंक छ । आइतबार नै भएको खेलमा सेभियाले लिभान्तेलाई ५–३ गोलले स्तब्ध बनाएको हो । पराजित लिभान्ते पाँच अंक सहित १९औं स्थानमा छ ।

घरेलु मैदानमा भएको अर्को खेलमा रियल बेटिसले रायो भालेकानोलाई ३–२ गोलले हराएको छ । जितसँगै पाँचौं स्थानमा उक्लिएको बेटिसको १८ अंक छ । पराजित रायो भालेकानो १६ अंक सहित सातौं स्थानमा छ ।

विश्वकै चर्चित लिग मध्येको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो ।

ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ । त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement