भारत-चीन विवादबारे बोल्यो नेपाल,दुई छिमेकी देशले समस्याको समाधान खोज्नेमा विश्वास


काठमाडौं – लद्दाखको गलवान घांटीमा भारत र चीनबीच भएको द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्नुपर्ने नेपालले जनाएको छ । शनिबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै दुई छिमेकी देशले दुईपक्षीय रुपमा समस्याको समाधान खोज्ने विश्वास व्यक्त गरेको हो ।

चिनियां सेनासंगको झड्पमा २० भारतिय सैनिकको मृत्यु भएपछि भारत र चीनबीच द्वन्द्वको सृजना उत्पन्न भएको हो ।  विज्ञप्तिमा भनिएको छ, ‘देशहरुबीचको विवाद शान्तिपूर्ण ढंगले समाधान हुनुपर्छ भन्ने नेपालको मान्यता छ ।

क्षेत्रीय र विश्व शान्तिका लागि नेपाल सधैं बलियो रुपमा उभिएको छ । गलवान उपत्यका क्षेत्रमा हाम्रा दुई छिमेकी भारत र चीनबीच भइरहेको पछिल्लो विकासबारे नेपाल विश्वस्त छ कि दुई छिमेकी देशले असल छिमेकीको भावनाले आपसी भिन्नतालाई शान्तिपूर्ण ढंगले दुई पक्षीय रुपमा समाधान गर्नेछन् र क्षेत्रीय तथा विश्व शान्ति र स्थिरता स्थापित गर्नेछन् ।’

चीनले गलवान घांटी आफ्नो भुभाग भित्र पर्ने दावी गरेको छ । चिनियां विदेश मन्त्रालयले शुक्रवार सांझ आफ्नो वेभसाइटमा एक प्रेस नोट जारी गर्दै गलवान घांटी वास्तविक नियन्त्रण रेखाको चीनको क्षेत्रभित्र पर्ने दावी गरेको हो । भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको छ। तर धेरैपछि सैनिकको मृत्यु हुनेगरी झड्प भएको हो। दुई देशबीच सन् १९६२ मा युद्ध भएको थियो। त्यसमा भारत नराम्ररी पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement