ललिता निवास प्रकरणकाे अनुसन्धान प्रतिवेदन सीआईबीले सरकारी वकिल कार्यालयलाई बुझायो 


काठमाण्डु – ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयलाई पठाएको छ ।

ललिता निवासको संगठित र कीर्ते मुद्दामा सीआईबीले अनुसन्धान प्रतिवेदनसहित सक्कल र नक्कल फाइलहरु जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।

प्रतिवेदनमा २७० भन्दा बढीलाई प्रतिवादी बनाइएको छ । यो प्रकरणमा सीआईबीले दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई, पूर्वमन्त्रीहरु चन्द्रदेव जोशी, विजयकुमार गच्छदार, सञ्जय साह, पूर्व मुख्यसचिव लिलामणि पौडेलसँग पनि बयान लिएको छ।

ललिता निवासको १४२ रोपनी सरकारी जग्गा नक्कली मोही खडा गरी व्यक्तिमा नाममा सारेको प्रकरणमा सिआइबीले अनुसन्धान गरेको हो।

गत साउन २१ गते मात्रै सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा मन्त्रिपरिषदका निर्णयकर्ताहरूमाथि पनि छानबिन गर्न आदेश दिएको थियो। अदालतले २०६६ चैत २९ गते, २०६७ वैशाख ३१ गते, २०६७ साउन २८ गते र २०६९ असोज १८ गते मन्त्रिपरिषद बैठकबाट भएका निर्णय र त्‍यस निर्णयमा सहभागीहरूमाथि अनुसन्धान गर्न आदेश दिएको हो।

प्रतिक्रिया दिनुहोस
Advertisement