ललिता निवास प्रकरणमा ४ पूर्वसचिवसहित ४०६ जनाविरुद्ध पक्राउ पुर्जी जारी


काठमाण्डु – बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा ४ पूर्वसचिवसहित ४०६ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिव दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध पक्राउ पुर्जी जारी भएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । तीमध्ये एक पूर्वसहसचिव सुधीर शाह पक्राउ परिसकेका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तसमेत रहेका दीप बस्न्यात फरार छन् ।

प्रहरीले ललिता निवास प्रकरणमा पछिल्लो समय ९ जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले प्रकरणमा ४ सय ६ जनालाई प्रतिवादी बनाएर प्रतिवेदन बुझाएको छ। जसमध्ये केही पक्राउ परिसकेका छन् भने अन्यको खोजी भइरहेको र अनुसन्धान अघि बढिरहेको सिआइबी जनाएको छ।

२०४९ सालदेखि २०६९ सालको अवधिमा ललिता निवासको १४३ रोपनी भन्दा बढी जग्गा हिनामिना भएको थियो । हिनामिनामा तत्कालीन प्रधानमन्त्री, मन्त्रीका साथै सम्बन्धित मन्त्रालय, गुठी संस्थान र मालपोत कार्यालयका कर्मचारीहरु समेत मुछिएका छन् । अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले कीर्ते र संगठित अपराधका दफा लगाएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement