लमजुङ-लमजुङको परेवाडाँडाको नाम सुन्नेबित्तिकै जो कोहीलाई झट्ट परेवाको प्रतीक भन्ने याद आउँछ । नभन्दै परेवाडाँडामा भएको जोडी परेवाको प्रतीक यतिबेला जिल्लाकै पर्यटकीय गन्तव्यस्थल बन्ने भएको छ ।
मध्यपहाडी लोकमार्गअन्तर्गत सुन्दरबजारको खत्रीठाँटीदेखि खत्रीठाँटी–कुन्छा सडकको परेवाडाँडा–हरिया खण्डबाट एक सय मिटरको दूरीमा रहेको मणिडाँडामा जोडी परेवाको प्रतीकसहित पार्क निर्माणको कार्य थालनी गरिएको छ । सडकबाट जोडी परेवाको प्रतीकसहित भएको पार्कसम्म जान केही उकालो भए पनि बाटोमा सिँढी निर्माण गरी पैदल यात्रालाई सहज बनाइएको छ ।
पछिल्लो समय ग्रामीण पर्यटकको पर्याय बन्दै गरेको लमजुङमा अर्को पर्यटकीय गन्तव्यको निर्माणसँगै परेवाडाँडाको विकासमा थप टेवा पुग्ने अनुमान गरिएको छ । उपयोग नभएको मणिडाँडामा रहेको १४ रोपनी सार्वजनिक जमिनमा करिब २०० वर्ष पुनाको आँपको बगैँचा छ । सो बगैँचाकोसमेत संरक्षण गर्नेगरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले पार्क निर्माणको थालनी गरिएको सुन्दरबजार नगरपालिका–२ का वडाध्यक्ष नवीनकुमार श्रेष्ठ बताउँछन् ।
मणिडाँडालाई वनभोजस्थल र पार्कसहितको पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्यका साथ सो कार्य गरिएको वडाध्यक्ष श्रेष्ठको भनाइ छ । उनका अनुसार निर्माणाधीन पार्क परिसरमा जोडी परेवाको प्रतीक स्थापना, शहीदहरूको शालिक निर्माण, पर्यटकहरुका लागि पानी पर्दा ओत लाग्नका लागि टहरा निर्माण गरिएको छ भने मणिडाँडामा रहेको पार्क परिसरमा राष्ट्रिय झण्डा राख्नका लागि पनि छुट्टै संरचना तयार गरिएको छ ।
जोडी परेवाका प्रतीक निर्माणका लागि वडा कार्यालयले चालु आवमा सात लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सोही स्थानमा दुई लाख रु ५० हजार खर्च गरेर शहीद मोहनलाल श्रेष्ठको शालिकसमेत निर्माण भएको छ । मणिको डाँडामा रहेको मणिको चौताराको मर्मत तथा स्तरोन्नति गर्ने र त्यहाँ नेपालको ठूलो राष्ट्रिय झण्डा राख्ने योजनासमेत वडा कार्यालयको छ ।
प्रतिक्रिया