काठमाण्डु – नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठामीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ ।
कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । नरके चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने हुन्छ ।
कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको छ ।
वैवस्वत मन्वन्तरको कूलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ ।
कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेहरूको सङ्ख्यासमेत बढ्न थालेको छ ।
यस्तै आजै लक्ष्मीपूजा पनि परेको छ । आज बिहान कुकुरको पूजा गरेपछि बेलुका लक्ष्मीपूजा गर्नुपर्ने छ ।
लक्ष्मीपूजाका दिन घर, आँगन तथा पसलहरू सफा गरी दीपावलीका साथ लक्ष्मीको पूजा गर्ने परम्परा छ । साँझ घरको मूलढोकादेखि पूजा कोठासम्म दीप प्रज्वलन गरी झिलिमिली बनाइन्छ । घरमा लक्ष्मीको प्रवेश होस् भन्ने विश्वासका साथ मूलढोका र आँगनमा रङ्गोली तथा लक्ष्मीका पाइला बनाउने चलन पनि छ ।
यस दिन लक्ष्मी, गणेश र सरस्वतीको पूजा गरी धनधान्य, सुख, शान्ति र समृद्धिको कामना गरिन्छ । घरमा भएका धनसम्पत्ति, गरगहना तथा बहुमूल्य वस्तु राखेर विशेष पूजा गर्ने परम्परा छ ।
केराका थम्बाले घरको मूलद्वार सजाउने, दियो बाल्ने, पटाका पड्काउने तथा विभिन्न रङका बत्ती र फूलझरीले घरआँगन उज्यालो बनाउने गरिन्छ ।
लक्ष्मीपूजाको राति माता लक्ष्मी पृथ्वीमा आई घरघरमा बास गरी सुख, शान्ति र समृद्धिको आशीर्वाद दिने धार्मिक विश्वास छ । यही विश्वासका साथ घरको प्रवेशद्वारदेखि भित्री कोठासम्म लक्ष्मीका पाइला बनाउने प्रचलन रहेको छ ।
लक्ष्मीपूजा कसरी गर्ने ?
स्नान गर्ने र घर सफा गर्ने। मूलद्वारदेखि पूजा कोठासम्म गाईको गोबर र रातोमाटाले वा पानीले राम्ररी पोत्ने वा सफा गर्ने।
साँझ पर्नेबित्तिकै घरको चारैतिर र मूलद्वारमा तेल वा घ्यूका दियो बालेर उज्यालो बनाउने
आवश्यक पूजा सामग्री ?
दियो, कलश, गणेश र लक्ष्मीको मूर्ति वा प्रतिमा
जनै, सुपारी, जौ, तिल, चन्दन, अक्षता, फूल, कुश, र कर्मपात्रो
धान, चामल
नगद पैसा र गरगहना
घ्यू र तीलको तेलका दियोहरू
चोखो स्थान वा मण्डप (खटिया/चौकी) तयार गरी त्यसलाई रातो वा सफा कपडाले बेर्ने। त्यसमा गणेश, सरस्वती, लक्ष्मी, श्रीयन्त्र र कुबेरयन्त्र स्थापित गर्ने।
सबैभन्दा पहिले कलशमा जल भरेर स्थापना गर्ने र प्रथम आराध्यदेव श्री गणेशको पूजा गर्ने।
पूर्व वा पश्चिम फर्किएर पूजा सुरु गर्ने। पञ्चोपचार (चन्दन, अक्षता, फूल, धूप, बत्ती) वा षोडशोपचार विधिले पूजा गर्ने।
त्यसपछि तल दिइएकाे मन्त्र पाठ, लक्ष्मीको ध्यान र आवाहन गर्ने। कलशमाथि वा थालीमा गरगहना र पैसा राखेर विधिपूर्वक पूजा गर्ने।
धनमग्निर्धनं वायुर्धनं सूर्यो धनं वसुः।
धनमिन्द्रो बृहस्पतिर्वरुणं धनमस्तु ते।।
अश्वदायै गोदायै धनदायै महाधने।
धनं मे जुषतां देवि सर्वकामांश्च देहि मे।।
मनसः काममाकूतिं वाचः सत्यमशीमहि।
पशूनां रूपमन्नस्य मयि श्रीः श्रयतां यशः ।।


प्रतिक्रिया