लिबिया संकट :नेपाली शान्ति सैनिक प्रतिको आस्था र विश्वासलाई अटल राख्न नेपाली सेना प्रतिबद्ध


काठमाडौं – अफ्रिकी राष्ट्र लिवियामा केही दिनदेखि विद्रोही समुह लिवियन नेसनल आर्मी (एलएनए) ले आक्रमक कारवाहीलाई तीब्र पार्दै राजधानी त्रिपोली कब्जा गर्ने उद्देश्यले अघि बढेपछि त्यहाँको सुरक्षा स्थिति तनावपूर्ण बन्दै गईरहेको छ ।

लिबियामा रहेको आफ्नो शान्ति सेनालाई फिर्ता गर्ने चर्चा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएपनि सो कुरा गलत भएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका नवनियुक्त प्रवक्ता विज्ञानदेव पाण्डेले शुक्रबार काठमाडौंपाटीसँगको कुराकानीमा भने,‘‘केही अन्तर्राष्ट्रिय सञ्चार माध्यममा त्यस्तो कुरा आएको पाइयो । त्यसैले सो कुरा होइन भनेर हामीले आज वक्तव्य जारी गरेका छौं ।”

केही आमसञ्चार माध्यमले यथार्थलाई नजर अन्दाज गर्दै नेपाली सेनाको हवाला दिएर अफ्रिकी राष्ट्र लिवियामा तैनाथ नेपाली शान्ति सैनिक त्यहाँबाट हट्न लागेको भनि भ्रामक समाचार संप्रेषण गरेको प्रति नेपाली सेनाले ध्यानाकर्षण भएको जनाएको छ । हाल युएनएसमिल मिशनको मिशन हेड क्वाटरको सुरक्षाको जिम्मेवारी लिवियामा कार्यरत नेपाली शान्ति सैनिकको रहेको छ । सेनाले जारी गरेको विज्ञप्तीमा अन्तर्रा्ष्ट्रिय समुदायको नेपाली शान्ति सैनिक प्रतिको आस्था र विश्वासलाई अटल राख्न नेपाली सेना प्रतिबद्ध रहेको जनाएको छ ।

त्यहाँको सरकारलाई संयुक्त राष्ट्र संघले समर्थन गर्दै आएको छ र सोही क्रममा राष्ट्र संघको आह्वानमा नेपाली शान्ति सेना पनि त्यहाँ रहेको छ । अप्रिल ८ को आक्रमणपछि अमेरिका र भारतले त्यहाँ रहेका आफ्ना सुरक्षाकर्मीलाई फिर्ता गरेपनि नेपाली शान्ति सेना भने संयुक्त राष्ट्र संघको त्यहाँ स्थित कार्यालयको सुरक्षामा रहँदै आएको छ ।

सेनाका प्रवक्ता पाण्डेले अन्तर्राष्ट्रिय मिडियामा लिवियाबाट नेपाली शान्ति सेना छिमेकी ट्युनिसियामा लैजाने तयारी भइरहेको भन्ने खालका समाचार आएकोमा पनि खण्डन गरेका छन् ।  उनले भने,“हाम्रो म्यान्डेट राष्ट्र संघको कार्यालयको सुरक्षा गर्ने हो ,राष्ट्र संघले निर्णय नगरेसम्म हामी कहीं पनि जाँदैनौं, त्यहाँबाट राष्ट्र संघको कार्यालय नै उठ्यो भने अलग्गै कुरा हो । तर, त्यस्तो निर्णय भएको छैन ।”

मिशन हेड क्वाटर लिबियामा नै रहेको अवस्थामा नेपाली शान्ति सैनिक लिबियाबाट फिर्ता हुन लागेको भनि संप्रेषित आधारहिन समाचारबाट दिग्भ्रमित नहुन नेपाली सेनाले अनुरोध गरेको छ ।  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग २२ चैत्रमा भएको वार्ता असफल भएलगत्तै राजधानी त्रिपोली कब्जा गर्न विद्रोही समूहका नेता खलिफा हप्तरले आफ्ना लडाकूलाई निर्देशन दिएका थिए।

लिवियाको राजधानीमा चर्किएको संघर्षमा शान्ति स्थापनार्थ रहेका नेपाली शान्ति सेना सुरक्षित रहेको नेपाली सेनाले बताएको थियो । चैत्र २५ गते सोमबार सैनिक जनसम्पर्क निर्देशनालयले एक विज्ञप्ती जारी गरी त्यहाँ कार्यरत २३१ जना नेपाली शान्ति सेना सुरक्षित रहेको जानकारी दिएको थियाे ।

सेनाका अनुसार अहिले सडकबाट मात्रै त्यहाँ आवतजावतको अवस्था रहेको छ ।  तेलको लागि धनी लिबियामा लामो समय सम्म शासन गरेका तत्कालीन शासक मुआमर गद्धाफीलाई पदबाट हटाएर सन् २०११मा हत्या भएपछि तनाव बढ्दै गएको छ ।  राष्ट्रसंघले सहयोग गरिरहेको  गभर्मेन्ट अफ नेशनल एकर्ड (जीएनए) ले विद्रोहीलाई निस्तेज गर्ने प्रयास गरिरहेको भएपनि त्यो पूर्ण रुपमा सफल हुन सकिरहेको छैन ।

यो पनि पढ्नुहोस्…

अफ्रिकी राष्ट्र लिवियामा २१ जनाको मृत्यु ,२३१ नेपाली शान्ति सैनिक सुरक्षित

लिबिया संकट :भारतीय र अमेरिकी सेनाले मैदान छाडेपछि सुरक्षाको जिम्मेवारी नेपाली सेनाको काँधमा

प्रतिक्रिया दिनुहोस
Advertisement