चिनियाँ जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली भदौ २७ गते नेपाल आउने


काठमाण्डु- चिनियाँ जन कंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु चार दिने नेपाल भ्रमणको सिलसिलामा भदौ २७ गते नेपाल आउने भएका छन् ।

लीको नेपाल भ्रमणबारे परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी जाकारी दिएकाे हो । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको औपचारिक निमन्त्रणमा ली नेपाल आउन लागेका हुन् ।

परराष्ट्रका अनुसार भदौ २७ गते सभामुख सापकोटा र चिनियाँ कंग्रेसका स्थायी समिति अध्यक्ष लीबीच प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता हुनेछ । सोही दिन सभामुख सापकोटाले लीको सम्मानमा रात्रीभोजको आयोजना गर्नेछन् ।

लीले भदौ २८ मा प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम छ । साेही दिन अध्यक्ष लीले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम छ ।

यस्तै, भदौ २९ मा लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने छन् । सोही दिन अध्यक्ष लीले राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।  ली नेपाल भ्रमण सम्पन्न गरी भदौ ३० गते स्वदेश फर्कने छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement