काठमाण्डु- स्थानीय तहको चुनाव नजिकिएपछि राजनीतिक दलहरु प्रचार प्रसारमा होमिएका छन् । सरकारले स्थानीय तहको निर्वाचनको मिति आगामी वैशाख ३० गते तोकेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले स्थानीय तहको निर्वाचनसम्म हालको गठबन्धन कायमै राख्ने बताएका छन् ।
यी दुबै अध्यक्षले आफूहरू स्थानीय तहको निर्वाचनमा गठबन्धनसहित जाने समेत दाबी गर्दै आएका छन् । ‘ कसलै पनि सबै भन्दा बलियो मै हो भनी अगाडि बढेमा त्यो पुग्नु पर्ने ठाउँसम्म पुग्दैन । आदि बाटो मै लड्छ । त्यसैले सबैले मिलेर गयो भने विजयी हासिल गर्न सकिन्छ । स्थानीय तहको चुनावमा पनि एक्लै लड्छु भन्ने घमण्ड देखाउनु हुँदैन । ’ प्रचण्डले एक कार्यक्रममा भनेका थिए ।
गत बुधबार बालुवाटारमा बसेको गठबन्धनको बैकले पनि सकेसम्म स्थानीय तहको चुनावमा मिलेर जाने निर्णय गरेको थियो । स्रोतका अनुसार वैशाख ३० मा हुने स्थानीय तहको चुनावमा सकेसम्म मिलेर जाने गठबन्धन दलहरूबीच जाने छलफल भएको हो । त्यसैगरी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि स्थानीय तहको चुनावमा गठबन्धनसहित जाने दावी गरेका थिए । गठबन्धनमा आवद्ध दलहरूले स्थानीय तहको चुनावमा मिलेर जाने बताए पनि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने यस विषयमा मुख खोलेका छैनन् ।
स्थानीय तहको चुनावमा एक्लै भिड्ने तयारीमा कांग्रेस
यता नेपाली कांग्रेसका नेताहरुले भने स्थानीय तहको चुनावमा एक्लै जाने बताउँदै आएका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चुनावमा मिलेर जाने बताउँदै आइरहेकाे बेला नेपाली कांग्रेसका नेताहरुले भने निर्वाचनमा आफूहरु कुनै पनि दलसँग सहकार्य नगर्ने दावी गरेका छन् ।
काठमाण्डुमा कांग्रेस निकट निजामति कर्मचारी युनियनको महाधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले स्थानीय तहको निर्वाचनमा कांग्रेस एक्लै जाने बताएका छन् । उनले कांग्रेसरुपी हात्तीको ठूलो कान देखेर केही चमेराहरु ओत लाग्न खोजिरहेको टिप्पणीसमेत गरेका छन् ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीप्रति कटाक्ष गर्दै गुरुङले कांग्रेसरुपी हात्तीको कानमा ओत लाग्न खोज्नेहरुबाट कांग्रेसलाई केही फाइदा नहुनेसमेत दावी गरे । प्रधानमन्त्री देउवा समेत सहभागी कार्यक्रममा गुरुङले कुनै पनि हालतमा नेपाली कांग्रेसले गठबन्धन लिएर चुनावमा नजाने बताएका हुन् ।
‘कांग्रेसरुपी हात्ती अब चुनावको मैदानमा लम्किन थालेको छ । कांग्रेस चुनावको मैदानमा लम्किदै गर्दा हात्तीको ठूलो कान देखेर चमेराहरु हात्तीको कानमा ओत लाउन खोज्दैछन् । हात्तीको कानमा ओत लाग्ने चमेराको भरोसा हुँदैन ।’ उनले भने, ‘ चमेराले हात्तीलाई केही सहयोग गर्दैन बरु हात्तीको कान दुर्गन्धित बनाउछन् । त्यसैले जनताबीच कांग्रेस एक्लै जान्छ आफ्नो रोडम्यापमा ।’
त्यसैगरी नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पनि स्थानीय तहको निर्वाचनमा कांग्रेस एक्लै जाने बताउँदै आइरहेका छन् । डा. कोइरालाले कम्युनिष्टहरु रुखमा भोट नहाल्ने भएकाले पनि चुनावमा एक्लै जानुपर्ने दावी गरेका छन् ।




प्रतिक्रिया