काठमाण्डु- लोक सेवा आयोगले उपसचिव वा सोसरह पदको लिखित परीक्षामा मर्यादा उल्लंघन गरेको ठहर गर्दै एक उम्मेदवारको परीक्षा रद्द गरेको छ। साथै उनलाई आगामी एक वर्षसम्म आयोगद्वारा सञ्चालन हुने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको आयोगले जनाएको छ।
आयोगले जारी गरेको सूचनाअनुसार विज्ञापन नम्बर १६६६४–१६६७१/८२–८३ (आन्तरिक) अन्तर्गत उपसचिव वा सोसरह पदको लिखित परीक्षा अनामनगर परीक्षा केन्द्रमा सञ्चालन गरिएको थियो।
सो परीक्षामा मास्टर आईडी ८६२९७३ तथा रोल नम्बर ८७२०७६ भएका योगराज गिरीले परीक्षासँग सम्बन्धित टिपोट आफ्नो सिटको टेबलमा लेखेर प्रयोग गरेको पाइएपछि कारबाही गरिएको आयोगले उल्लेख गरेको छ।
लोक सेवा आयोगका अनुसार उक्त कार्य लोक सेवा आयोग ऐन, २०७९ को दफा ४१ (१) अनुसारको कसुर हो। सोही ऐनको दफा ४१ (२) बमोजिम गिरीको सम्बन्धित विज्ञापनअन्तर्गतका सबै परीक्षा रद्द गर्नुका साथै उनलाई एक वर्षसम्म आयोगका कुनै पनि परीक्षामा सहभागी हुन नपाउने निर्णय गरिएको हो।
आयोगले परीक्षाको मर्यादा, निष्पक्षता र विश्वसनीयता कायम राख्न यस्तो कदम आवश्यक भएको स्पष्ट पारेको छ। आयोगका उपसचिव कुलप्रसाद सापकोटाले सार्वजनिक सेवा प्रवेश प्रक्रियामा अनुशासन र पारदर्शिता सुनिश्चित गर्न नियम कडाइका साथ कार्यान्वयन भइरहेको बताए।




प्रतिक्रिया