प्रधानमन्त्री देउवा र लोसपाका नेताबीच भेटवार्ता,यी विषयमा भयाे छलफल


काठमाण्डु –  प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूले आगामी निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने र पार्टी सरकारमा सहभागी हुने सम्बन्धमा भेटवार्ता गरेका हुन् । देउवासँग छलफल गर्न लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी लगायत प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको छलफलमा आफ्ना माग पूरा गर्न र निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा सकारात्मक कुराकानी भएको लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए । “नागरिकतासम्बन्धी ऐन पारित गरी कार्यान्वयन गर्न र निर्दोष कार्यकर्ताको रिहाइ गर्ने विषयमा सकारात्मक छलफल भयो, प्रधानमन्त्रीज्यू पनि हाम्रा माग सम्बोधनका विषयमा सकारात्मक हुनुहुन्छ”, उनले भने ।

प्रधानमन्त्री देउवाले नागरिकतासम्बन्धी विधेयक पारित भइसकेको र लोसपाका कार्यकर्ताहरूको रिहाइको मुद्दा फिर्ताका लागि प्रक्रिया अघि बढिसकेको जानकारी गराउँदै लोसपासँग सहकार्यका लागि सकारात्मक भएको नेता महतोले जानकारी दिए । नेता महतोले पाँचदलीय गठबन्धनमा लोसपा पनि सहभागी हुने तथा सरकारमा सहभागी हुने विषयमा पनि सकारात्मक कुराकानी भएको बताए ।

निर्वाचनमा तालमेलका लागि प्रधानमन्त्री देउवासँग यसअघि पनि लोसपाले विभिन्न चरणमा छलफल गर्दै आएको छ । नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई राष्ट्रपतिसमक्ष पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement