लोसपा सरकारमा सहभागि हुने ‘च्याप्टर क्लोज’ 


काठमाण्डु- सरकारमा जान तम्तयार भएको लोकतान्त्रिक समाजवादी पार्टी ‘लोसपा’ सत्ता गठबन्धनभित्र कुरा नमिल्दा सरकारमा जान सकिरहेको छैन ।

सरकारले मंसिर ४ गते संघ र प्रदेशसभाको चुनावको मिति घोषणा गरेसँगै लोसपा नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता जारी राखेका हुन् । लोसपा नेताहरुले प्रधानमन्त्री देउवासँग जति सक्दो चाँडो आफूहरुलाई सरकारमा सहभागि गराउन आग्रह गरिरहेका छन् । 

देउवालाई भेट्न बिहीबार बिहान लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितका शीर्ष नेताहरू राजेन्द्र महतो, शरत्सिंह भण्डारी र अनिल झा बालुवाटार पुगेका थिए । अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवासँगको भेटवार्तामा सत्तारुढ पाँच दलीय चुनावी गठबन्धनमा ल्याउने की नल्याउने भनी अविलम्ब प्रष्ट जवाफ दिन ताकेता गरे ।

भेटमा लोसपालाई पाँच दलीय चुनावी गठबन्धनमा ल्याउनेबारेमा शनिबार भित्र नै निर्णय दिन ठाकुरले देउवासँग आग्रह गरेका थिए ।  ‘तपाईले हामीलाई पाँ दलीय गठबन्धनमा ल्याउनुहुन्छ कि हुन्न ? यसको स्पष्ट जवाफ आजभोलि नै दिनुस् भनेर हामीले प्रधानमन्त्रीज्यूलाई प्रष्टसँग भन्यौं,’ भेटपछि लोसपाका नेता महतोले भनेका थिए ।

ठाकुरले सरकारमा आफूहरूलाई सहभागि गराउने की नगराउनेबारे प्रष्ट जवाफ दिन ताकेता गरेपछि प्रधानमन्त्री देउवाले भने एक दुई दिनमा यसबारे ठोस निर्णय गर्ने आश्वासन दिए । देउवाको आश्वासन पछि ढुक्क भएर लोसपा नेताहरु बालुवाटारबाट फर्के ।

तर, चार दिन भइसक्दा पनि प्रधानमन्त्री देउवाले लोसपालाई सरकारमा ल्याउने की नल्याउने भन्नेबारे कुनै पनि निर्णय गरेका छैनन् । यसबारे देउवाले गठबन्धनमा आवद्ध दलहरूसँग पनि छलफल गरेनन् । यसभन्दा अगाडि भने लोसपालाई सरकारमा सहभागी हुन प्रधानमन्त्री देउवाले पटक-पटक आग्रह गरेका थिए । 

लोसपाका नेताहरुसँग देउवाले दिनहुँ भेटवार्ता समेत गरेका थिए । त्यति बेला लोसपा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग निकट थियो । तर, पछिल्लो समय लोसपाले सरकारमा जान खोजे पनि देउवाले भने चासो देखाएका छैनन् ।  पछिल्लो समय संघीय निर्वाचन अन्तर्गत सिट बाँडफाँडका गर्न सत्ता गठबन्धनलाई सकस परिरहेको छ । त्यसकारण पनि लोसपालाई सरकारमा सहभागि गराउनबारे देउवा पछि हटेका हुन् ।

यता पाँच दलीय गठबन्धनमा मधेसवादी दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि लोसपालाई सरकारमा ल्याउन इच्छुक छैनन्। अध्यक्ष यादवले केही दिन अगाडि बसेको पार्टीको बैठकमा पाँच दलीय गठबन्धनले लोसपालाई सरकारमा नल्याउने दावी समेत गरे । त्यस कारण लोसपालाई सरकारमा सहभागि गराउने गठबन्धनको ‘च्याप्टर क्लोज’ भएको आँकलन गरिएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री देउवाले सरकारमा सहभागि गराउन चासो नदेखाए पछि  लोसपाले संघीय चुनावमा कुन दलसँग गठबन्धन गर्नेबारे छलफल जारी राखेको छ ।  लोसपाका एक नेताले प्रधानमन्त्री देउवाले सरकारमा सहभागि गराउनेबारे एक दुई दिनभित्र टुंगो गराउने आश्वासन दिए पनि यसबारे कुनै निर्णय नगरेको बताए ।

उनका अनुसार अब लोसपाले संघीय निर्वाचनमा कसरी जानेबारे छलफल गरिरहेको छ । लोसपाले अगामी संघ र प्रदेशको चुनावमा कुनै नकुनै दलसँग तालमेल गर्ने भनि यसअघि नै निर्णय गरेको थियो । 

प्रतिक्रिया दिनुहोस
Advertisement