काठमाण्डु– नेपाल आयल निगमले पछिल्ला केही दिनयता अभाव देखिएको खाना पकाउने एलपी ग्यासको बिक्री वितरण सहज हुन थालेको दावी गरेको छ।
गत असार ३१ गतेदेखि १४.२ किलोग्राम ग्यास भएको सिलिन्डर बिक्री गर्न थालेपछि एक्कासी अभावजस्तो देखिए पनि साविकको तुलनामा भारतबाट आयातको परिमाण निरन्तर वृद्धि र वितरण प्रक्रियालाई चुस्त बनाइएसँगै ग्यासको अभाव कम हुँदै गएको निगमले जनाएको हो ।
हाल ग्यासको आयात निरन्तर वृद्धि भइरहेको छ । गत आवको साउनमा ४४ हजार ३१८ मेट्रिक टन ग्यास आयात भएको तथ्याङ्क छ ।
पछिल्लो २२ दिनमा ३९ हजार ७७४ मेट्रिक टन ग्यास आयात भएको निगमले जनाएको छ । यस आधारमा चालु आवको साउनमा करिब ५५ हजार मेट्रिक टन ग्यास आयात हुने अनुमान गरिएको छ।
सरकारले नजिकिँदा ठूला चाडपर्वमा ग्यासको अभाव नहोस् भनेर तीन महिनाका लागि ग्यास आयातको कोटा वृद्धि गर्न भारतसँग कूटनीतिक प्रयास गरिरहेको छ ।
गत फागुनमा ग्यासको अभाव देखिएपछि निगमले आधा (७.१ किलो) ग्यास भरिएको सिलिन्डर बिक्री गर्ने व्यवस्था मिलाएकाे थियाे । आधा सिलिन्डरको बिक्रीले तत्कालको समस्या समाधान गरे पनि छिट्टै पूरा ग्यास भरिएको सिलिन्डर पाउने आशामा उपभोक्ताले सिलिन्डर ‘होल्ड’ गर्दा अहिले समस्या आएको उद्योगी बताउँछन्।
यस्तैमा ग्यासको बिक्री वितरणलाई सहज बनाउन उद्योगमन्त्री गौरीकुमारी यादवसहित निगमको उच्च अधिकारीले टेकुस्थित निगम परिसर नेपाल, एसपी, एभरेस्ट, सुगम र श्रीराम ग्यासको बिक्री केन्द्रको निरीक्षण गरेका छन् ।
निगममा गठन गरिएको क्विक रेस्पोन्स टिमले ग्यास नपाएको भन्ने उपभोक्ताका ५०० बढी गुनासोलाई सम्बोधन गरिसकेको छ ।
वाणिज्य मन्त्रालय, निगम र निजी क्षेत्रका प्रतिनिधि सहभागी सो टिमले उपभोक्ताको गुनासाका आधारमा ग्यास उपलब्धताका लागि सहजीकरण गर्दै आइरहेको छ।
नेपालमा हाल ५८ एलपी ग्यास उद्योग सञ्चालनमा रहेका छन् । ती उद्योगमा १० हजार १६६ मेट्रिक टन भण्डारण र दैनिक एक करोड ७५ लाख सिलिन्डर दैनिक फिलिङ क्षमता रहेको छ।




प्रतिक्रिया