विवादित राजदूत लक्कीलाई सरकारको सन्देश : बर्खास्त हुनुभन्दा राजीनामा दिनू


काठमाडौं – मानव तस्करीको आरोप लागेर विवादमा मुछिएकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले राजीनामा दिने विकल्प दिएको छ ।

बर्खास्तको निर्णय गरेर राजदूतबाट फिर्ता बोलाउँदा भविष्यमा समेत दाग लाग्ने भएकाले यथाशीघ्र राजीनामाको विकल्प रोज्न सरकारको सन्देश छ । गम्भीर विवादमा मुछिएपछि शेर्पालाई राजदूतको जिम्मेवारीमा राखिराख्नु उचित नहुने निष्कर्षमा सरकार पुगेको छ । नेकपा अध्यक्ष प्रचण्डलाई परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले  शेर्पालाई राजीनामा दिने विकल्प सुझाउन आग्रह गरिसकेका छन्  । ज्ञवालीले प्रचण्डले भनेकै व्यक्तिलाई एक सातामै सोही ठाउंमा राजदूत पठाउने आश्वासन समेत दिएको बताईन्छ । 

पूर्वसवारी चालक वाङ्छु शेर्पाले मानव ओसारपसारको आरोप लगाएपछि राजदूत शेर्पा विवादमा आएकी हुन् । आफूबाट लाखौं रुपैयाँ लिएको र पत्नीलाई उल्टै फसाएको भन्दै वाङ्छुले सञ्चारमाध्यमबाट सार्वजनिक अपिल गरेका थिए । विवादमा मुछिएकाले राजीनामा दिएर जिम्मेवारीबाट मुक्त हुने विकल्प सरकारले खुला गरेको छ ।

केही दिनअघि सरकारले राजदूत शेर्पालाई अस्ट्रेलियाबाट फिर्ता बोलाएको थियो । विवादमा मुछिएपछि राजदूत शेर्पामाथि छानबिन समेत चलिरहेको छ । उनले परराष्ट्र मन्त्रालयमा उपस्थित भएर आरोपबारे स्पष्टीकरण पनि दिएकी छन् ।

विवादमा मुछिएपछि नेकपाका नेता, नेपाली कांग्रेस पार्टी लगायतले राजदूत शेर्पामाथि छानबिन र कारवाही गर्न माग गरेका थिए । त्यसपछि परराष्ट्र मन्त्रालयले आन्तरिक रुपमा तीन सदस्यीय छानबिन समिति गठन गरेर कारवाही प्रक्रिया अगाडि बढाएको हो । छानबिन समितिमा सहसचिव मणि भट्टराई, दिपक अधिकारी र तपस अधिकारी छन् ।

स्पष्टीकरण चित्तबुझ्दो नआएको र विवादमा मुछिएपछि राजदूतमा कायमै राखिराख्न उचित नहुने निष्कर्षमा सरकार पुगेको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली अमेरिका भ्रमणमा रहेकाले उनी अमेरिकाबाट फर्किंदासम्म राजीनामा दिन राजदूत शेर्पालाई भनिएको छ । अमेरिका भ्रमणबाट मन्त्री ज्ञवाली पुस ६ गते शुक्रबार फर्किने कार्यक्रम रहेको छ ।

शक्तिकेन्द्र धाउँदै

अस्ट्रेलियाबाट काठमाडौं झिकाइएको दिनदेखि नै राजदूत शेर्पाले शक्तिकेन्द्र धाउन थालेकी छन् । आफूमाथि हुन सक्ने सम्भावित कारवाही रोक्न शेर्पाले कोसिस गरिरहेकी छन् । तर उनको कोसिसले सार्थकता पाउन सकेको देखिँदैन ।

आफूमाथि कारवाही हुन लागेको भन्दै आवश्यक दबाब सिर्जना गर्न राजदूत लक्कीले शेर्पा संघ लगायत जातीय संघसंगठनमा पनि गुहार मागेकी छन् । तर जातीय संघसंगठनले समेत गल्ती देखिएकाले सरकारमै स्पष्टीकरण दिन भनेका छन् । एउटा शेर्पाको छोराले नै ठगिएको भनेर आरोप लगाएको अवस्थाले संघसंगठनले पनि राजदूत शेर्पालाई शंकास्पद नजरले हेरेका छन् ।

राजदूत शेर्पाले बच्ने प्रयास गरेपनि उनीमाथि कारवाही गर्नुपर्छ भन्ने पक्ष नेकपा र सरकारभित्र बलियो रहेको देखिएको छ । नेकपाका कतिपय नेताहरू खुलेरै राजदूतको विरोधमा उत्रिएका छन् । राजदूत भएर विदेशमा देशकै बद्नाम गर्ने काम गरेकाले तत्काल बर्खास्त गर्नुपर्ने नेकपाकै नेताहरूले माग गरेका थिए ।

अन्तर्राष्ट्रिय स्तरमा सरकारको प्रतिनिधित्व गर्ने व्यक्ति विवादरहित हुनुपर्ने भएकाले सरकारले उनलाई फिर्ता बोलाउने मुड बनाएको छ । प्रक्रिया पूरा गरेर राजदूत शेर्पालाई फिर्ता बोलाउन प्रधानमन्त्री केपी शर्मा ओली नै सक्रिय भएका छन् । प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच समेत शेर्पालाई फिर्ता बोलाउने विषयमा सहमति भइसकेको नेकपा स्रोतले जनाएको छ । फिर्ता बोलाउनुअघि राजीनामा दिन सकिने उपाय शेर्पालाई दिइएको छ । 

कसरी ठगिए वाङ्छु शेर्पा ?

लक्की राजदूत हुनुअघि नै वाङ्छु शेर्पा उनका पतिको सम्पर्कमा थिए । उनका पतिले अमेरिका पठाइदिने भन्दै २२ लाख रुपैयाँ लिएका थिए ।

गाउँकै एक जनालाई अमेरिका पठाएकाले विश्वास २२ लाख रुपैयाँ दिएको पीडित वाङ्छु शेर्पाले बताएका छन् । त्यसपछि पनि १०–१० लाख गरेर २ पटक थप रकम दिइएको उनले बताए । अमेरिका पठाइदिने भन्दै पीडित शेर्पाले कूल ४२ लाख रुपैयाँ दिए ।

तर राजदूत दम्पतीले वाङ्छु शेर्पालाई अमेरिका पठाउन सकेनन् । उनले अमेरिकाको भिसाका लागि दरखास्त दिएपनि उनको भिसा भने लागेन र अमेरिका पठाउन नसकिरहेकै बेला लक्की शेर्पा राजदूत बन्ने चर्चा चल्यो ।

त्यसपछि वाङ्छु शेर्पालाई पनि दूतावासमै काम गराउने गरी अस्ट्रेलिया लैजाने सहमति भयो । शेर्पाले दूतावासमै चालकको काम गरे । राजदूत भएपछि शेर्पाले चर्काे रकम लिएर नेपालीलाई अस्ट्रेलिया पठाउने धन्दा शुरू गरेको वाङ्छु शेर्पाको आरोप छ ।

आफूले दिएको पैसा वाङ्छु शेर्पाले फिर्ता माग्न थालेपछि राजदूत दम्पतीले चोरीको आरोप लगाएको र शेर्पाकी पत्नीलाई मुद्दा लगाएर थुनामा पठाएको पीडित शेर्पाको दाबी छ । वाङ्छु शेर्पाकी पत्नी अहिले पनि प्रहरीको थुनामै रहेकी छन् । 

राजदूतको चक्करमा परेर वाङ्छु शेर्पा परिवार अहिले नराम्ररी फसेको तथा शक्ति र पैसाको आँडमा राजदूत दम्पतीले मनपरी गरिरहेको दाबी गरिएको छ । राजदूत शेर्पाले आफूजस्तै अरुलाई पनि फसाउने गरेको वाङ्छुले आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement