लुम्बिनी क्षेत्रको विकासका लागि चरणबद्ध कार्यक्रम : प्रधानमन्त्री ओली


रुपन्देही – प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकारले चरणबद्धरुपमा कार्यक्रम सन्चालन गर्ने बताएका छन् । लुम्बिनीमा शनिबार आयोजित बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस र लुम्बिनी भ्रमण वर्ष २०७६ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले लुम्बिनीलाई ध्यान र ज्ञान क्षेत्रकारुपमा विकास गर्दै विश्व समुदायसँग अन्तर्राष्ट्रिय सम्मेलन गर्नेबारे छलफल भइरहेको बताए ।

उनले लुम्बिनी क्षेत्रको तीव्रतर विकासका लागि अन्तर्राष्ट्रिय समुदायको साथको आवश्यकता रहेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले बुद्धस्थल कपिलवस्तुको तिलौराकोटलगायतका स्थलहरुलाई समान ढंगबाट विकास गर्दै लैजाने प्रतिबद्धता जनाए ।

उनले तिलौराकोटले विश्वसामु नयाँ तथ्य उजागर गरेकाले त्यसको विकास र प्रवर्द्धनका लागि नयाँ ढंगले योजना बनाउने बताए । कार्यक्रममा प्रदेश नम्बर-५ का मुख्यमन्त्री शंकर पोखरेलले संघीय सरकार र प्रदेश सरकारको साथले लुम्बिनीको विकास र विश्वव्यापी प्रवर्द्धन गर्ने बताए ।

बुद्ध जन्मस्थल लुम्बिनीको काम तीव्रगतिमा हुनुपर्ने उल्लेख गर्दै उनले अन्य बुद्धस्थलकोसमेत उत्खनन् र तथ्य बाहिर ल्याउनुपर्नेमा जोड दिए । प्रदेशका पर्यटनमन्त्री लीला गिरीले प्रदेश नम्बर–५ सरकारले लुम्बिनी क्षेत्रको प्रवर्द्धनका लागि भ्रमण वर्ष घोषणा गरेको र यसले प्रदेश समृद्ध बन्ने आधार तयार पार्न सहयोग पुग्ने बताए ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले अबको तीन वर्षमा लुम्बिनी गुरुयोजना पूरा हुने र त्यसपछि लुम्बिनीको मुहार परिवर्तन हुने बताए । कार्यक्रममा लुम्बिनीको प्रवर्द्धनमा सहयोग पुर्‍याएको भन्दै राससकर्मी निरा गौतमसहित ८ जनालाई कदरपत्रले सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement