गठबन्धनको डम्फू मात्रै बजाएर बस्न सकिँदैन: माधव नेपाल


काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको डम्फु मात्रै बजाएर बस्न नसकिने बताएका छन् ।

शनिबार पार्टी निकट नेपाल तामाङ संघ समाजवादीले शनिबार काठमाण्डमा आयोजना गरेको कार्यक्रममा संघीय निर्वाचनमा गठबन्धनको डम्फु मात्रै बजाएर बस्न नसकिने चेतावनी दिएका हुन् । उनले आगामी मंसिर पहिलो साता आम संघ र प्रदेशको निर्वाचनको घोषणा हुने दावी गरे ।

अध्यक्ष नेपालले गठबन्धनको डम्फु बजाउने काम छोडेर पार्टीको संगठन सुदृढीकरणको काममा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । ‘सम्भवत मंसिर महिनाको पहिलो हप्तामा चुनावको घोषणा हुनेछ । अब कति दिन कति हामीले गठबन्धनको डम्फु बजाएर बस्ने ? अव डम्फु बजाउने होइन । अब यो पार्टीलाई बलियो बनाउने डम्फु बजाउने । यो पार्टीलाई सुदृढ बनाउने कुरा गर्ने हो ’, उनले भने ।

त्यस्तै उनले आगामी आम निर्वाचनमा २० देखि २५ सिट ल्याउने दाबीसमेत गरे । स्थानीय तह निर्वाचनमा २८ प्रतिशत उम्मेदवारी दिँदा ९ लाख २७ हजार भोट पाएको उल्लेख गर्दै अध्यक्ष नेपालले सबै ठाउँमा उम्मेदवारी दिएर आगामी आम निर्वाचनमा जाँदा समानुपातिकसहित प्रतिनिधिसभामा आफ्नो पार्टीले २० देखि २५ सिट ल्याउने बताए ।

‘अहिले हाम्रो प्रतिनिधिसभामा समानुपातिकसहित २४ सिट छ । १२ जना प्रत्यक्षबाट निर्वाचित छौं हामी प्रतिनिधिसभामा । त्यसलाई त घटाउन सक्दैन कसैले पनि । त्यो हुनाले अरु पार्टीभन्दा हाम्रो हैसियत कमजोर हुने होइन नी’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement