भाञ्जासँग टकराव परेपछि अध्यक्ष नेपालले खोसे युवा संघ अध्यक्ष विश्वकर्माको पद, घानमा परिन लामा

भाञ्जासँग टकराव परेपछि अध्यक्ष नेपालले खोसे युवा संघ अध्यक्ष विश्वकर्माको पद, घानमा परिन लामा


काठमाण्डु – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीको युवा संघका अध्यक्ष कृष्णकुमार विश्वकर्मालाई पदबाट हटाएका छन् । अध्यक्ष नेपालले अन्तरपार्टी निर्देशिका–४ (अपानि) जारी गर्दै विश्वकर्माको पद खोसेका हुन् ।

अध्यक्ष नेपालले अपानि जारी गर्दै पार्टीको केन्द्रीय समिति सदस्यमा निर्वाचित भएका सबै सदस्यहरूको अन्य पद खोसिएको र जिल्लामा इञ्चार्ज तथा सहइञ्चार्जको जिम्मेवारी दिइएको उल्लेख गरेका छन् ।

‘अनेरास्ववियू र युवा संघमा रहनुभएका पार्टी केन्द्रीय कमिटीका सबै सदस्य कमरेडहरूलाई अनेरास्ववियू र युवा संघको जिम्मेवारीबाट बिदा गरी भूगोलको जिम्मेवारी तोकिएको छ,’ अपानिमा भनिएको छ, ‘उहाँहरू सबैलाई तोकिएको जिम्मेवारी सम्हाल्न निर्देशित गरिन्छ । अनेरास्ववियू र युवा संघका इन्चार्ज तथा सह–इन्चार्जहरूलाई तुरुन्तै उक्त दुबै संगठनका सम्मेलनलगायत कामको योजना बनाई अगाडि बढाउन निर्देशन गरिन्छ ।’

युवा सँघ अध्यक्षसँगै अनेरास्ववियु अध्यक्ष आरती लामाको पद पनि अध्यक्ष नेपालले अपानिबाट खोसेका छन् । त्योसँगै अनेरास्ववियु र युवा सँघमा रहेका पार्टीको केन्द्रिय सदस्यमा निर्वाचित भएका सबै सदस्यहरूको संगठनको पद खोसिएको छ ।

अपानिको निर्देशनसँगै युवा संघमाबाट विश्वकर्मा, समानान्तर समिति बनाएका नितेश पौडेल, सुशील भट्टराई, फुर्वा तामाङ, अञ्जु काङमाङ, जंग थापा, अनिता लामा र पेमा लामा अलग भएका छन् । उनीहरू सबै गत असारमा सम्पन्न पार्टी महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

त्यस्तै केन्द्रीय सदस्य निर्वाचित भएका अनेरास्ववियूमा रहेका अध्यक्ष लामासँगै हिरेन्द्र शाही, केसरी रेग्मी, माधव पन्त र यशु लामा पनि संगठनबाट आउट भएका छन् ।

उनीहरूलाई संगठनबाट आउट गर्न पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भएको र अरु जिम्मेवारी दिइएको बताइए पनि हटाउनुको कारण अर्कै रहेको एकीकृत समाजवादीका नेताहरू बताउँछन् ।

अध्यक्ष नेपालले सचिवालयमा लामो समय काम गरेका र भाञ्जा नितेश पौड्याललाई युवा सँघ अध्यक्ष बनाउन चाहन्थे । तर सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले कृष्णकुमार विश्वकर्मालाई बोकेपछि बनाउन सकेनन् । पौड्याललाई वरिष्ठ उपाध्यक्ष बनाउन बाध्य भए ।

तर, भाञ्जा पौडेलले अध्यक्ष विश्वकर्माविरुद्ध संगठनमा गतिविधि गर्दै गए । उनीहरूबीचको विवाद बढ्दै गएपछि २६ जेठ २०८१ मा पौडेलले समानान्तर समिति बनाए । आफूविरुद्ध समानान्तर समिति बनाएपछि अध्यक्ष विश्वकर्माले नेता खनाल र महासचिव भुसालसँग अनौपचारिक सल्लाह गरेर पौडेललाई संगठनबाट हटाए ।

त्यही रिस अहिलेसम्म पौडेलले साँचीरहेका थिए । अध्यक्ष नेपालले मौका पर्दा विश्वकर्माको पद खोस्ने दाउ हेरिरहेका थिए । अहिले अपानि जारी गर्दा एक व्यक्ति एक पदको अवधारणा ल्याएर भाञ्जाको जोडबलमा विश्वकर्माको पद खोसिएको नेताहरू बताउँछन् ।

त्यो अवधारणा ल्याउँदा अनेरास्ववियु अध्यक्ष लामालगायत अन्य विद्यार्थी र युवा सँघमा आवद्धहरू घानमा परेका चर्चा परिचर्चा पनि एकीकृत समाजवादीका नेता कार्यकर्ता गरिरहेका छन् ।

अध्यक्षबाट हटाएका विश्वकर्मा र लामाले भने भ्रातृ संगठनका नेताहरूलाई वैशाखसम्म अधिवेशन गर्ने र कार्यवाहक तोक्ने अधिकार दिइए पनि विद्यार्थी संगठन र युवा संघ नेपालका अध्यक्ष भने अपानीबाटै हटाइएको भन्दै असन्तुष्टि जनाइरहेका छन् ।

विश्वकर्मा र लामा दुवैले पार्टी महाधिवेशनमा महासचिव भूसाललाई पार्टी अध्यक्ष बनाउनुपर्छ भनेर लबिइङ गरेका थिए।