२५ दिनपछि अर्थमा फर्कन लागेका जनार्दनले अर्थसचिव फेर्ने सम्भावना बलियो,अरु को-को फेरिंदैछन् ?


काठमाण्डु – माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः अर्थमन्त्रीको रुपमा आज सपथ लिंदैछन् । बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर भएको आरोप लागेपछि शर्माले गत असार २२ मा पदबाट राजीनामा दिएका थिए । शर्मालाई आज ५ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीको रुपमा सपथ ग्रहण गराउने कार्यक्रम छ ।

माओवादी नेता शर्मालाई आरोप लागेपछी संसदले ११ सदस्यीय छानबिन समिति गठन गरेर छानविन गरेको थियो । समितिले बुझाएको प्रतिवेदनमा शर्मालाई क्लिन चिट दिइएको छ । यद्यपी त्यसमा एमालेले आफ्नो असहमति भने राखेको छ । तर, शर्मा संलग्न भएको प्रमाण भने समितिले फेला पारेको छैन् । उनले आफु निर्दोष भएको दावी गर्दै आएका छन् ।

शर्मा आज २५ दिनपछि अर्थमन्त्रालय फर्कदै छन् । अर्थमन्त्रीमा राजीनामा दिनुअघि प्रमुख प्रतिपक्ष दल एमालेले सिसीटिभी फुटेज देखाउनुपर्ने माग राख्दा उनै शर्माले ‘एमाले को हो सिसीटिभी देखाउनैपर्ने’ भन्ने अभिव्यक्ति दिएपछि विवादमा समेत आएका थिए । उनले राजीनामा नदिने अडान राखेपनि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सल्लाहमै उनले पदबाट राजीनामा दिएका थिए ।

अहिले शर्मालाई ल्याउन दाहाल र देउवा दुवैको जोड थियो । शर्माले अर्थमन्त्री बन्न धेरै इच्छा नदेखाएको उनि निकट स्रोत बताउंछ । तर खुलटार र बालुवाटार दुवैसंग सुमधुर भएका शर्मालाई ल्याउन दुवै शक्तिकेन्द्रको जोड रहेको बताइन्छ ।

उनले आफुले राम्रो काम गर्दा गर्दै पनि विवादित हुनुपरेको भन्दै अर्थमन्त्री नबन्ने बताएका थिए । तर, दुवै नेताले उनलाई अर्थमा ल्याउन जोड गरेको स्रोत बताउंछ । शर्माको व्यापारिक घरानासंग समेत सुमधुर सम्बन्ध छ । उनले ल्याएको बजेटको समेत व्यवसायिकहरुले स्वागत गरेका थिए ।

शर्मा अर्थमा फर्कन लाग्दै गर्दा वौद्धिक समुदाय र अन्तर्राष्ट्रिय समुदायले भने त्यसलाई त्यति राम्रो मानेका छैनन् । उनले केही सिमित व्यापारिक घरानाको फाइदाको लागि मात्र काम गरेको आरोप छ । तर, अर्थमन्त्री शर्माले भने आफुले देशको अर्थतन्त्रलाई बलियो बनाउन काम गरेको र त्यसबाट स्थार्थी समुह असन्तुष्ट रहेको दावी गर्दै आएका छन् ।

शर्मा बजेट कार्यान्वयनमा आउन लागेको १५ दिनपछि मन्त्रालयमा फर्कर्दैछन् । आफैले ल्याएको बजेट कार्यान्वयन गर्न शर्मालाई त्यति असहज भने छैन् । तर, शर्माको कर्मचारी संयन्त्रसंग भने सुमधुर सम्बन्ध नभएको स्रोत बताउंछ ।

उनको अर्थसचिव मधु मरासिनी र राजस्व महाशाखा प्रमुख सहसचिव भुपाल बरालसंग त्यति सुमधुर सम्बन्ध छैन् । शर्माले मरासिनीको कार्यशैलीप्रति तिव्र असन्तुष्ट जनाएका छन् । उनले आफुमाथि आरोप लागेको बेला विदा बसेर मरासिनीले असहयोग गरेको बताउंदै आएका छन् ।

शर्मा मरासिनीको विकल्प खोज्नेमा रहेको स्रोत बताउंछ । त्यसैगरी कांग्रेस निकट रहेका बरालले नै सुचना चुहाएको उनको आरोप छ । बरालसंग समेत मन्त्री शर्मा खुसी छैनन् ।

तर, उनको टिममा रहेका बजेट महाशाखाका प्रमुख चक्र बुढाको समेत कार्यसम्पादन राम्रो नभएको मन्त्री शर्माको बुझाई छ । यता राजस्व सचिव कृष्णहरि पुस्करसंग भने उनको गुनासो कम छ । त्यसैले कतिपयले पुस्कर नै अर्थसचिव हुन सक्ने अनुमान गरिरहेका छन् । पुष्करले अर्थमन्त्रीमाथि छानविन चलिरहंदा समेत उनको डिफेन्स गरेका थिए ।

शर्माले माओवादी नेतृ विना मगरको सिफारिसमा राजस्व विभागको महानिर्देशक भएका रितेश शाक्यलाई समेत फेर्नेमा छन् । शाक्यको ठाउंमा सुमन दाहालललाई जिम्मेवारी दिने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement