भारतबाट अवैध रुपमा नेपाली मजदूर महाकाली तरेर भित्रिए


बैतडी – लकडाउनको समयमा अवैध रुपमा हालसम्म १०० भन्दा बढी नेपाली नागरिक महाकाली नदी तरेर नेपाल भित्रिएका छन् । बैतडी र दार्चुलामा गरी उक्त सङ्ख्यामा स्वदेश भित्रिएका हुन् ।

महाकाली नदीमा ट्युवमार्फत बैतडीमा ४० जना भित्रिएका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए । सीमा सील रहेका बेला अवैध रुपमा सुरक्षाकर्मीको आँखा छलेर उनीहरु नेपाल आएका हुन् । उनीहरु सबैलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्ने गरिएको उनले बताए ।

दार्चुलामा पनि लकडाउनमा समयमा महाकाली नदी तरेर ७० जना भित्रिएको तथ्याङ्क रहेको छ । उनीहरुमध्ये कोही महाकालीमा पौडिएर, कोही तुहिनमार्फत र कोही ट्युबमार्फत स्वदेश भित्रिएका हुन् । स्वेदश फर्कने सबै नेपाली मजदुर रहेको र उनीहरुलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्ने र कोरोना परीक्षणपश्चात मात्रै घर पठाउने गरेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । भारतसँग सीमा जोडिएका बैतडी र दार्चुलाका विभिन्न १५ स्थानमा सशस्त्र प्रहरीको पोष्ट स्थापना गरिएका छन् ।

अवैध प्रवेश रोक्न निगरानी समूह

लकडाउन रहेको समयमा अवैध रुपमा सीमा क्षेत्रबाट हुने वारपार रोक्न निगरानी समूह गठन गर्न थालिएको छ । बैतडीस्थित महाकाली नदीमा ट्युबमार्फत तरेर अवैध रुपमा नेपाली फर्कने क्रम नरोकिएपछि यहाँका सिमावर्ती स्थानीय तहहरुले निगरानी समूह गठन गर्न थालेका हुन् ।

कोरोनाको जोखिम हुनसक्ने भएकाले सीमासँग जोडिएका सबै स्थानीय तहहरुले निगरानी समूह गठन गर्न थालेको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले जानकारी दिए । जिल्लाको दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका भारतसँग सीमा जोडिएका छन् । यी स्थानीय तहहरुमा निगरानी समूह गठन गरिदैंछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement