सरकारले भ्रष्टाचारविरोधी लडाइँ लड्नैपर्छ,सडकबाट हामी साथ दिन्छौँ : महासचिव विप्लव


काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले दलाल पूँजीवादी व्यवस्था कायमै रहेकाले नेपालमा पनि भ्रष्टाचार मौलाएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित ‘समाजवादी यात्राको चुनौतीः भ्रष्टाचार र दण्डहिनता’ विषयक प्रवचन गोष्ठीमा बोल्दै उनले उक्त कुरा बताएका हुन्।

उनले अहिलेको भ्रष्टाचार विरोधी अभियानमा माओवादी केन्द्र नेतृत्वको सरकारमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हुनु, त्यसमा उपेन्द्र यादवसहितका दलहरू सहभागी हुनु खुसीको कुरा भएको बताए।

‘अहिले गृहमन्त्री, उपप्रधानमन्त्रीजी जो हुनुहुन्छ। खुसी पनि लागेको छ। नेपाल कम्युनिष्ट पार्टी (माअ‍ोवादी केन्द्र) को नेतृत्वमा सरकार छ। र, हाम्रो उपेन्द्र यादव कमरेड पनि हुनुहुन्छ,’ उनले भने, ‘अरु समाजवादी पार्टीहरू पनि सबै हुनुहुन्छ। र, एउटा लडाईं जस्तो पनि देखिएको छ। यो राम्रो कुरा हो। हामीले भनेका छौं–सरकारले त्यो लडाईं लड्नुपर्छ।’

भ्रष्टाचारविरोधी लडाईंमा सरकार आफैं सहभागी हुनु रामो कुरा भएको उल्लेख गर्दै महासचिव विप्लवले त्यसका लागि सरकारलाई आफ्नो पार्टीले सडकबाट जनतालाई एकीकृत गरेर साथ दिइरहेको दाबी गरे। श्रेष्ठ गृहमन्त्री भएको भए तत्कालीन समयमा आफ्नो पार्टीमाथि प्रतिबन्ध लाग्दैन थियो कि भन्ने अहिले आफूलाई लागि रहेको समेत बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement