प्रधानमन्त्रीलाई महेश बस्नेतको सुझावः नयाँ गोल हान्ने चान्स तपाईंकै हातमा छ


काठमाण्डु – प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाका नेता महेश बस्नेतले सर्वोच्च अदालतको अनपेक्षित फैसलाको सम्मान गर्ने बताएका छन् ।

प्रतिनिधिसभा पुनःस्थापनापछि सामाजिक सञ्जालमार्फत नेता बस्नेतले ओलीका वरिपरि आज पनि नेपालको राजनीति घुमिरहेको बताए ।

‘०५२ सालको मनमोहन अधिकारीको सरकारको संसद बिगठन गरि निर्वाचनमा गएको प्रक्रिया बिगठन गरेको फैसलाले राजनीति १ दशक सम्म अस्थिरता र बिकृती तर्फ फसेको थियो । जिम्मेवार नेतृत्वले त्यो कुरा ध्यान दिएर सुजबुज पुर्ण कदम चाल्नुहुनेछ’, उनले भनेका छन्, ‘ सुखी नेपाली र समृद्ध नेपालका परिकल्पनाकार राजनेता के पी ओलीको वरिपरि आज पनि नेपालको राजनीति घुमिरहेको छ । एक गोल पोलमा लागेर फर्केको छ। नयाँ गोल हान्ने चान्स तपाईंकै हातमा छ ।’

उनले मुलुकलाई समीकरणको दिशाबाट एकीकरणको दिशामा लग्न प्रधानमन्त्री अ‍ोलीलाई आग्रह गरेका छन् । नेता बस्नेतले बिभाजनकारीहरुलाई एकताको प्रक्रियामा फर्काउन पनि सुझाव दिएका छन् ।

‘पद,पैसा र प्रतिष्ठाका लागि मरिहत्ते गर्नेलाई सदाचारको बाटोमा हिडाउनु होस् । राजनीतिलाई बिकृती र बिसंगती मुक्त बनाउनुहोस । हामी सबैको सशक्त र दरो समर्थन तपाईंलाई रहनेछ’, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement