ग्यास चुल्हो दाइजो नल्याएको भन्दै नवदुलहीमाथि निर्घात कुटपिट


काठमाण्डु – महोत्तरीमा दाइजोको निहुँमा नवदुलहीमाथि कुटपिट भएको छ । दाईजो कम भएको भन्दै श्रीमान सहित परिवारका सदस्यले उनीमाथी कुटपिट गरेका हुन् ।

गएको वैशाख १३ गते सर्लाही हरिपुर्वा नगरपालिकाका जोगनारायण साहसँग उनको विवाह भएको थियो । दाइजोमा ग्यास चुल्हो र सिलिन्डर लगायत सामग्री नदिएको भन्दै नवदुलहीमाथि कुटपिट भएको प्रहरीले जनाएको छ । विवाह गरेको चार पाँच दिनपछि उनी माइत गएकी थिइन् ।

त्यसको केही दिनमा नै उनी घर फर्किएकी थिइन् । घर फर्किएपछि आफूमाथि झन् धेरै दुर्व्यवहार भएको दुलहीले बताएकी छिन् । कुटपिटबाट घाइते भएकी उनलाई माइती पक्षले उपचार गराएको छ ।

माइती पक्षले सर्लाहीको शान्ति सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालयमा दोषीलाई कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका छन् । कुटपिटमा संग्लन ससुरालाई प्रहरीले पक्राउ गरेको छ भने अन्य सदस्य भागेकाले खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौडले बताए ।

माइतिपक्षले विवाहमा नगद तीन लाख पचहत्तर हजार रुपैयाँ, दुई तोला सुन, १२ तोला चाँदी, फर्निचर र लत्ताकपडा गरी १२ लाख रुपैयाँभन्दा धेरै दाइजो दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement