अनुदानको मल दुरुपयोग गरेपछि २ लाख रुपैयाँ जरिवाना

अनुदानको मल दुरुपयोग गरेपछि २ लाख रुपैयाँ जरिवाना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा – सरकारबाट अनुदानमा प्राप्त रासायनिक मलको बिक्री वितरणमा अनियमितता गरेको पाइएपछि झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित संजिवनी कृषि भण्डारलाई जिल्ला प्रशासन कार्यालयले २ लाख रुपैयाँ जरिवाना गरेको छ ।

अनुदानित रासायनिक मल अनधिकृत रूपमा बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा बिहीबार गरिएको आकस्मिक अनुगमनका क्रममा भण्डारको मल मौज्दात र बिक्री विवरणमा अनियमितता भेटिएको हो ।

प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्रवणकुमार पोखरेलका अनुसार सञ्चालक प्रेमकुमार भट्टराईले साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेड, बिर्तामोडबाट खरिद गरेको कुल ४०० बोरा मलमध्ये २४१ बोरा मात्रै गोदाममा भेटिएको थियो । बाँकी १५९ बोरा मलको बिक्री तथा मौज्दात विवरण पेश गर्न नसकेपछि भण्डारलाई जरिवाना गरिएको छ ।

भण्डारले खरिद गरेको मलमध्ये १७० बोरा युरिया र २३० बोरा डीएपी थियो । अनुगमनका क्रममा गोदाममा १२० बोरा युरिया र १२१ बोरा डीएपी भेटिएको थियो । बाँकी ५० बोरा युरिया र १०९ बोरा डीएपीको हिसाब देखाउन नसकेपछि उपभोक्ता हित संरक्षण ऐनबमोजिम २ लाख रुपैयाँ जरिवाना गरिएको सीडीओ पोखरेलले बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको संयोजकत्वमा कृषि ज्ञान केन्द्र, उद्योग वाणिज्य संघ, जनप्रतिनिधि र उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि सहितको टोलीले अनुगमन गरेको थियो ।

यसैगरी बुद्धशान्ति–३ कै ७ नम्बर चोकस्थित न्यू कञ्चन कृषि सहकारी संस्थाको पनि अनुगमन गरिएको थियो । संस्थाको मल खरिद, बिक्री तथा मौज्दात विवरण दुरुस्त पाइएको प्रशासनले जनाएको छ ।