बंगालको खाडीमा चीनलाई लक्षित गर्दै मालाबार नौसैनिक अभ्यास सुरु,अस्ट्रेलिया समेत सहभागी


नयां दिल्ली – दक्षिण एसियामा बढ्दो चिनियां प्रभावलाई मध्यनजर गर्दै बंगालको खाडीमा क्वाड सदस्य राष्ट्रहरुका जल सेनाको अभ्यास मालाबार सुरु भएको छ । चीनसंग तनाव बढेसंगै भारत, अमेरिका, जापान र अस्ट्रेलियाले बंगालको खाडीमा संयुक्त नौसैनिक अभ्यास सुरु गरेका हुन् ।

यी मुलुकहरुबीचको सैनिक सम्बन्धलाई थप मजबूत गर्न यो अभ्यासले महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा गरिएको छ । इण्डो प्यासेफिक क्षेत्रमा देखिएका साझा सुरक्षा चुनौतीविरुद्ध लड्न यो अभ्यास आवश्यक देखिएको अमेरिकाले दावी गर्दै आएको छ । यो अभ्यासमा अस्ट्रेलिया समेत पहिलो पटक सहभागी भएको छ ।

क्वाड अर्थात ‘क्वाड्रिलेट्रल सेक्युरिटी डाइलग’ एक अनौपारिचक रणनीतिक मञ्च हो । यो मंचमा भारत सक्रिय भुमिकामा यसअघि नभएपनि चीनसंगको सम्बन्ध खराव भएसंगै भारतको सक्रियता बढेको हो । पछिल्लो समय भारत र अमेरिकाबीच रणनैतिक साझेदारी देखिएको छ ।

मालाबर नौसेना अभ्यास पहिलो पटक १९९२ मा भारत र अमेरिकाबीच द्धिपक्षिय सैन्य अभ्यासको रुपमा सुरु भएको थियो । २०१५ मा जापान यसमा सहभागी भएको थियो भने यो वर्ष अस्ट्रेलिया सहभागी भएको हो । चारै देशको चीनसंग सम्बन्ध बिग्रेको बेला यो अभ्यास हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

यो अभ्यासलाई दुई चरण आयोजना गर्ने व्यवस्था मिलाईएको छ । पहिलो चरणको अभ्यास बंगालको खाडी (विशाखापट्टन) मा ३ देखी ६ नोभेम्बरसम्म चल्नेछ । दोस्रो चरणको अभ्यास १७ देखि २० नोभेम्बरसम्म अरब सागरमा चल्नेछ । यसवर्षको अभ्यास पन्डुब्बी जहाजको आक्रमण र हवाई आक्रमणविरुद्ध कसरी साझा रुपमा लड्ने भन्नेमा केन्द्रित हुने जनाइएको छ।

यो संयुक्त सैन्य अभ्यासले फरक अलग-अलग देशको मैत्रीपूर्ण नौसेनाकाबीच उच्चस्तरको तालमेल र समन्वयको प्रर्दशन समेत हुनेछ । यो संयुक्त सैन्य अभ्यासलाई लिएर चीनले समेत प्रतिक्रिया जनाएको छ । चिनियां विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले मंगलबारको नियमित पत्रकार सम्मेलनमा चार मुलुकहरुबीच आजबाट सुरु भएको सैन्य अभ्यासबाट यस क्षेत्रको शान्ति र स्थायित्वका लागि अनुकुल हुने विश्वास चीनको रहेको धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement