नेपाल भ्रमणअघि मलेसियाका गृहमन्त्रीसंग नेपाली राजदूतको भेटवार्ता


क्वालालम्पुर – मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा उच्चस्तरीय भेटवार्ता सुरु गरेका छन् ।

राजदूत पौडेलले मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल र मानव संशाधनमन्त्री भी. शिवकुमारसँग छुट्टाछुट्टै भेटवार्ता गरी नेपाल तथा मलेसियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध विस्तार र आपसी हितका बारेमा छलफल गरेका हुन् ।

सो अवसरमा उनिहरुबीच नेपाली युवाका लागि आकर्षक श्रम गन्तव्य रहेको मलेसियामा संख्यात्मकसँगै गुणात्मक वृद्धि कसरी गर्ने भन्नेबारे विचारबिमर्स भएको थियो ।

भेटमा नेपाली श्रमिकहरु शून्य लागतमा जाने व्यवस्थाको प्रभावकारी कार्यन्वयनका साथै मलेसियामा नेपाली श्रमिकका लागि प्राप्त हुन सक्ने थप रोजगारीका अवसर र कार्यरत नेपाली श्रमिकको सेवा सुविधाबारे पनि कुराकानी भएको राजदूतावासले जनाएको छ ।

भेटमा दुईपक्षीय, क्षेत्रीय तथा वहुपक्षीय स्तरमा पारस्परिक हितका विषयमा साझेदारी गर्दै दुवै मुलुकको राष्ट्रिय हित प्रवर्द्धन गर्न एक अर्कालाई सहयोग गर्दै अघी वढ्ने बारेमा छलफल समेत थियो ।

गृहमन्त्री इस्माइलसँग राजदूत पौडेलको निकट भविष्यमा उहाँको नेतृत्वमा हुने उच्चस्तरीय नेपाल भ्रमणबारे कुराकानी भएको थियो । भ्रमणका क्रममा मलेसियाको ’फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’ बारे गृहमन्त्री इस्माइलले नेपाली अधिकारीहरुसँग छलफल गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement