मलेसियाको जेलमा भएका नेपालीलाई नेपाल ल्याइदिन आमा र श्रीमतीको अनुरोध


पाल्पा – सानो टिनले छापेको झुप्रो, त्यही झुप्रोमा दुई छोरा, दुई छोरी, एक सासूआमासहित रामपुर नगरपालिका– ५ बाङ्गेपसल बस्ने जमुना नेपालीले मजदूरी गरेर जीवन गुजारा चलाउँदै आएकी छन् ।

छ जनाको परिवारको लालनपालन र छोराछोरीलाई उचित शिक्षादिक्षा दिन जमुनाका श्रीमान् मटनबहादुर नेपाली तीन वर्षअघि मात्रै वैदेशिक रोजगारीका निम्ति मलेसिया पुगे ।

परिवारको मीठो सपना बोकेर विदेश गएका नेपाली दुई वर्षदेखि त्यहाँको जेल जीवन बिताइरहेका छन् । घरपरिवार, छोराछोरीको भविष्य बोकेर मलेसिया पुगेका नेपाली गएको वर्ष दिनमा नै जेल जीवन बिताउन बाध्य भए ।

उनी विदेश गएपछि परिवारमा एक किसिमको खुशियाली छायो । एक वर्ष्भित्रै उनले विदेश जाँदा लागेको ऋण चुक्ता गरिसकेका थिए । ऋण सकिएपछि घरखर्च, परिवारको खुशीका निम्ति कमाएर केही वर्षमा नै स्वदेश फर्कने योजना बनाउँदै आएका नेपाली जेल जीवन बिताउन बाध्य भए ।

श्रीमान् विदेशको जेलमा छन्, परिवारमा आयस्रोत नहुँदा दैनिक गुजारा चलाउन जमुनालाई निकै समस्या छ । मजदुरी गरेर दैनिक ५०० रुपैयाँ बुझेको ज्यालाबाट घरखर्च, छोराछोरीको पढाई खर्च चलाउनुपर्ने बाध्यता छ ।

‘छोराछोरी सानै छन्, कमाउन जानुभएका श्रीमान् जेलमा पर्नुभयो, मजदूरी नगरेसम्म साँझ बिहान चुल्होमा आगो बल्दैन’, उनले भनिन् । श्रीमानलाई जेलबाट निकाल्न कहीँकतैबाट पहल नहुँदा कति समयसम्म जेल जीवन बिताउनुपर्ने हो पत्तो नभएको उनको गुनासो छ ।

‘श्रीमानले कसरी के कारणले भनेर सोध्दा केही बताउनु हुँदैन, जेलमा बसेको एक वर्षपछि मात्र परिवारमा खबर भयो, न रातमा निद्रा न दिनमा भोक लागेको जस्तै भएको छ’ उनले दुखेसो गरिन् ।

परिवारमा शिक्षित व्यक्ति नहुनु, आयस्रोत अत्यन्तै न्यून रहँदा उनको परिवारमा चिन्ता छाएको छ । छोरो जेलमा छ भनेको सुनेपछि ६० वर्षीया आमा पवित्रा नेपालीको आँखामा आँशु रोकिएको छैन । घरमा पुग्ने जो कोही, छिमेकी, आफन्त देख्नेबित्तिकै छोरालाई नेपाल झिकाउने व्यवस्था गर्न आग्रह गर्छिन् ।

‘उमेर ढल्कँदै गएको छ, छोराको पिरैपिरले बिरामी पर्न थालेको छु, धन कमाउन छोरो विदेश गयोभन्दा मनमा खुशी छाएको थियो, अहिले धन कमाउन त परै जाओस् अर्काको देशमा जेलमा छ भनेको सुन्दा मनमा पिरको भारीले थिचिरहेको छ’, उनले बिलौना गर्दै भनिन् । छोराछोरी घरको आँगनमा कोही नयाँ व्यक्ति पुग्नै हुदैन, बाबा आउनुभयो भन्दै बाहिर निस्कन्छन् । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement