हास्यकलाकार मनोज गजुरेल विवाह बन्धनमा बाँधिए


काठमाण्डु – हास्यकलाकार मनोज गजुरेल विवाह बन्धनमा बाँधिएका छन् । ४ वर्ष  अघि २२ वर्ष लामो वैवाहिक जीवनको अन्त्य गर्दै फेसन डिजाइनर मीना ढकालसँग पारपाचुके गरेका गजुरेलले आज दोस्रो विवाह गरेका छन् ।

उनले न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग विवाह गरेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । साथै उनले नकारात्मक टिप्पणी नगरिदिन समेत आग्रह गरेका छन् ।

यस्तो छ उनको फेसबुक स्टाटस

आफन्त, साथी तथा शुभचिन्तकहरूमा सुखद जानकारी !
जीवन सधैँ सरल रेखामा नहिँड्ने रहेछ । मेरो लामो वैवाहिक जीवन ४ बर्षपहिले
कानुनीरुपमा टुंगिएको कुरा यहाँहरूलाई विदितै छ ।

त्यसयता म मेरा छोरा र छोरीको एकल अभिभावक भएर बसिरहेको जानकारी पनि जगजाहेर नैतिकताको  छ । जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविकै हो । त्यसैगरी मेरा बाबु नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनु पनि जरुरी थियो । यी दुबै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो । बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो ।

यसै क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो । बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो । एकैखालको परिवेश र उस्तै खालको भोगाइबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं ।
एकअर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने  बाचा गर्यौं । अगाडि आईपर्ने सुस्खदुस्खलाई मिलेर स्वीकार र प्रतिकार गर्ने संकल्प लियौं । हामीलाई यो निर्णयमा पुग्न हाम्रा बाबुनानीहरुको सुझाव र सहमतीले पनि ठूलो मद्धत गर्यो ।

सम्पूर्ण मिडियाकर्मी साथीहरूलाई सादर अनुरोध छ । कृपया मेरो व्यक्तिगत जीवनका बारेमा काल्पनिक समाचार नलेखिदिनुहोला ।  मन्जुजीको इज्जत र प्रतिष्ठामा आँच आउने अमर्यादित कथा नकथिदिनुहोला । हाम्रा सन्तानको सुख र शान्तीकालागी परपीडक ट्रोल र भिडियो नबनाईदिनु होला ।

कसैको निजी जीवनका बारेमा कपोकल्पित  समाचार बनाउने, असम्बन्धित मान्छेसँग नाम जोड्ने, हाम्रो विगतको जीवन, वर्तमानको विवाह तथा भविस्यको योजनाका बारेमा अनुमानकारिता नगर्नुहुन पनि अनुरोध गर्दछु । त्यसैगरी हाम्रो नितान्त व्यक्तिगत मामिलाका बारेमा अनावश्यक सामग्री बनाउने कानुनी, व्यवहारिक र सामाजिक अनुमति कसैलाई नभएको कुरापनि जोडदार रूपमा जाहेर गर्दछु ।

विगतका अराजक अन्तर्वार्ता, असामाजिक क्रियाकलाप तथा अभद्र व्यवहारका कारण म र मेरा छोराछोरीले ठूलो आघातबाट गुज्रनु परेको छ । त्यस्ता क्रियाकलापलाई स्थान दिने, उचाल्ने र गिजोल्ने युट्युब, अनलाइन समाचार, टिकटक लगायत संजालका प्रयोगकर्ताहरुलाई पनि भद्र सुझाव छ । कृपया एउटा जिम्मेवार अभिभावक भएर बोल्ने र लेख्ने गर्नुहोला । सामाजिक सन्जालको चरम दुरुपयोगले आफू र आफ्ना सन्तानलाई पार्न सक्ने गंभिर असरलाई पनि महसुस गर्नुहोला ।

अन्त्यमा, पुनः सम्पुर्णं आफन्त, साथी तथा शुभचिन्तकहरूलाई  यो सुखद जानकारी गराउछौँ कि हामीले आज मिति २०७८ साल असोज २५ गते सोमबार बिहान डोलेश्वर महादेवको दर्शन गर्यौँ । त्यसपछि परिवारको उपस्थितिमा त्यहीँ विवाह सम्पन्न गर्यौँ । अनि, सपरिवार मानवसेवा आश्रम (कौशलटार)मा रहेका  बुवाआमालाई खाना खुवाएररखाएर विवाह सम्पन्न गरेकाछौँ  । परिस्थिति सिर्जित हाम्रो यो नयाँ अध्यायलाई शुभकामना र आशिर्वाद प्रदान गर्ने सबैलाई धन्यवाद  ! नवदुर्गा भवानीले सबैको रक्षा गरुन् । बडादशैँको हार्दिक शुभकामना!

प्रतिक्रिया दिनुहोस
Advertisement