मन्त्रीहरु कार्यालय काममा भन्दा सार्वजनिक कार्यक्रममा व्यस्त


काठमाडौँ – कानुनमन्त्री शेरबहादुर तामाङले बंगलादेशमा चिकित्सा शिक्षा पढ्ने नेपाली छात्राप्रति लक्षित गरिएको आफ्नो विवादास्पद टिप्पणीप्रति आइतबार सार्वजनिक रूपमा माफी मागे । शुक्रबार एउटा निजी विद्यालयको कार्यक्रममा व्यवसायी दुर्गा प्रसाईंकै शैलीमा विवादास्पद अभिव्यक्ति दिएका थिए ।

बोल्दा होस नपुर्‍याउँदा मन्त्री तामाङ विवादमा त परे नै, सँगै यो घटनाले असम्बन्धित र महत्त्वहीन कार्यक्रममा मन्त्रीहरू बारम्बार किन पुग्ने गर्छन् भन्ने प्रश्न पनि उठ्न थालेको छ ।

एक महिनाअघि युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले गृहजिल्ला कास्कीमा भैंसी गोठ उद्घाटन गरेको तस्बिर सार्वजनिक भएपछि यस्तै चर्चामा तानिएका थिए । मन्त्री तामाङ र विश्वकर्माका यी दुई घटना दृष्टान्त मात्रै हुन्, तर अधिकांश मन्त्रीहरू दिनहुँँजसो कुनै न कुनै असम्बन्धित कार्यक्रममा सहभागी भएकै हुन्छन् । तर, सबै चर्चामा आउँदैनन् ।

मन्त्री तामाङका अनुसार राजनीतिक दलका नेताहरू कुन कार्यक्रममा सहभागी हुने, कुनमा नहुने भनेर छुट्याउनै कठिन छ । प्रधानमन्त्री र मन्त्री भइसकेपछि त झनै गाह्रो रहेछ । चिनेजानेका साथीभाइको आग्रह टार्न नसक्दा तामाङ शुक्रबार यस्तै निजी विद्यालयको कार्यक्रममा पुगेका थिए । ‘निम्ता आएका ५० प्रतिशत कार्यक्रममा पुग्न सकिन्न, बाँकीमा जाने कोसिस गर्छु,’ उनी भन्छन्, ‘तर कहिलेकाहीँ शब्द छनोटमा ध्यान नपुग्दा यस्तै विवादमा तानिँदोरहेछ, अब संवेदनशील बन्छु ।’

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा अहिले २४ सदस्य मन्त्री छन् । दुई तिहाइ बढीको समर्थन प्राप्त सरकारको प्रमुख लक्ष्य र गन्तव्य ‘आर्थिक विकास एवं समृद्धि’ छ । त्यही उद्देश्यअनुसारको लक्ष्य प्राप्त गर्ने दिशामा अघि बढ्नुभन्दा मन्त्रीहरू यस्तै सामान्य कार्यक्रममा समय फाल्दै आएका छन् । ‘कतिपय त सान र मानका लागि मात्रै मन्त्री भएका हुन् कि जस्तो लाग्छ,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने, ‘मन्त्री भएको सान देखाउने र सस्तो लोकप्रियतामा रमाउने मन्त्रीहरू पनि छन् ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement