पाँच क्यासिनोमाथि मन्त्री आले आक्रामक, सात दिनभित्र ८५ करोड तिर्न ‘अल्टिमेटम’


काठमाण्डु – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रोयल्टी नबुझाउने पाँच क्यासिनोलाई सात दिनभित्र रोयल्टी बुझाउन पत्राचार गरेको छ ।

मन्त्रालयले मङ्गलबार सूचना जारी गर्दै होटल याक एण्ड यती लिमिटेड दरबारमार्ग, ओरियन्टल होटल्स लिमिटेड (र्‍याडिसन होटल) लाजिम्पाट, रक इन्टरनेशनल प्रालि काठमाण्डु, ह्याप्पी आवर प्रालि काठमाण्डु र सेन्ट्रल मिडिया प्रालि काठमाण्डुले क्यासिनो सञ्चालन गरेबापत सरकारलाई तिनुपर्ने ८५ करोड ८४ लाख ४७ हजार रुपैयाँ बाँकी वक्यौता रकम चुक्ता गर्न पत्राचार गरेको हो ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६/७७ सम्मको वक्यौता होटल याक एण्ड यती लिमिटेड दरबारमार्ग काठमाण्डुले २० करोड ६८ लाख १५ हजार, ओरियन्टल होटल्स लिमिटेड (र्‍याडिसन होटल) लाजिम्पाटले १८ करोड ७६ लाख, रक इन्टरनेशनल प्रालि काठमाण्डुले ११ करोड ४५ लाख ८२ हजार ८४८, ह्याप्पी आवर प्रालि काठमाण्डुले २१ करोड ५५ लाख तथा सेन्ट्रल मिडिया प्रालि काठमाण्डुले १३ करोड ३९ लाख ५० हजार बुझाउन बाँकी रहेको छ ।

गत कात्तिक ७ गते ३५ दिने सूचना र पुस २७ गते १५ दिने म्याद तोकेर पत्राचार गरिए पनि अहिलेसम्म बाँकी रहेको वक्यौता चुक्ता नभएकाले सातदिने सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले क्यासिनोले तिर्न बाँकी रहेको रोयल्टी बुझाउनुपर्ने ताकेता गरेपछि पर्यटन विभागले सो रकम बुझाउन पत्राचार गरेको हो । यसअघि सरकारलाई रोयल्टी, नवीकरण दस्तुर र जरिवाना नतिरी अमेरिका भाग्न लागेका क्यासिनो सञ्चालकलाई प्राइम बैंक जमानत बसेपछि छाडिएको थियो ।

काठमाण्डुको साङ्ग्रिला र रुपन्देहीको टाइगर प्यालेस होटलमा क्यासिनो सञ्चालन गर्ने एसएचएल म्यानेजमेन्ट प्रालिका तर्फबाट १४ करोड २० लाख बैंक जमानत प्राप्त भएको पर्यटन विभागले जनाएको छ ।

क्यासिनो सञ्चालन गरेबापतको रोयल्टी, जरिवाना र दुई वर्षको नवीकरण दस्तुरसहित १४ करोड २० नतिरी अमेरिका भाग्न लागेका क्यासिनो सञ्चालक माइकल बोल्सोवरलाई माघ १ गते साँझ मन्त्री आलेको निर्देशनमा अध्यागमनमा रोकिएको थियो । पर्यटनमन्त्री आलेले राज्यलाई नियमानुसार हुन आउने रकम बराबरको राजस्व नबुझाए कारबाही हुने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement