भारतीय विदेश मन्त्रालयको नर्थ डेस्कका अतिरिक्त सचिव नेपाल आउँदै

भारतीय विदेश मन्त्रालयको नर्थ डेस्कका अतिरिक्त सचिव नेपाल आउँदै


काठमाण्डु- भारतीय सहयोगमा नेपालमा सञ्चालित परियोजनाको समीक्षा गर्न भारतीय विदेश मन्त्रालयको नर्थ डेस्क (नेपाल–भुटान)का अतिरिक्त सचिव मनु महावर नेपाल आउँदैछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल–भारत संयुक्त परियोजना व्यवस्थापन समितिको बैठकमा सहभागी हुन तथा उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ताका लागि उनी आइतबार तीन दिनका लागि काठमाडौं आउन लागेका हुन् ।

महवारको नेतृत्वमा आउने टोलीमा भारतको ऊर्जा, वाणिज्य, सडक र पेट्रोलियम मन्त्रालयका अधिकारीहरू पनि रहने छन् ।

सन १९९६ ब्याचका आईएफएस महावर सन् २००१ देखि २००५ सम्म विदेश मन्त्रालयमा नेपाल डेस्कमा काम गरी सकेका छन् । उनले माल्दिभ्समा भारतका लागि राजदूत भएर पनि काम गरिसकेका छन् । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुलाई भारत भ्रमण गराउन उनको विशेष भूमिका रहेको थियो ।

महवारको नेतृत्वमा आउने टोलीले नेपालमा भारतको सहयोगमा सञ्चालनमा रहेका आर्थिक तथा विकास परियोजनाको समीक्षा गर्ने छ । बैठकमा अन्तरदेशीय रेल परियोजना, एकीकृत चेक पोस्ट, अन्तरदेशीय प्रसारण लाइन, अरुण तेस्रो जलविद्युत् परियोजना, माथिल्लो कर्णाली जलविद्युत् परियोजना, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, हुलाकी सडक, सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालित परियोजना, पुनर्निर्माण परियोजनालगायतका मुद्दामा समीक्षा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।