कास्की- कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित प्रख्यात मर्दी हिमाल आधार शिविर (बेसक्याम्प) मा मानव अवशेष फेलापरेको छ । फेला परेको मानव अवशेष स्वीडिस नागरिकको हुन सक्ने आशङ्का गरिएको छ ।
भेटिएको सो अवशेष गत पुस १३ गते मर्दी पदयात्राका क्रममा हाइक्याम्पबाट हराएका स्वीडेनका नागरिक २० वर्षीय मिचल लिउ ब्लोम्बर्ग हुनसक्ने आशङ्का गरिएको छ । पदमार्गको हाइ क्याम्पबाट मर्दी आधार शिविरतर्फ जानेक्रममा हराएका मिचलको त्यसबेला खोजी गरिए पनि फेला पर्न सकेका थिएनन् ।
माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले स्थानीय पर्यटन व्यवसायीले शुक्रवार साँझ मानव अवशेष भेटिएको बारेमा शनिवार जानकारी गराएको बताए । उनका अनुसार कपडाको आडमा मानव अस्थिपञ्जर भेटिएको छ ।
‘स्थानीयले अवशेष देखेर खबर गर्नुभएको छ । भौगोलिक रूपमा अत्यन्त विकट भएकाले कसरी ल्याउने भन्नेबारेमा प्रहरी प्रशासन र गाउँपालिकासँग छलफल गरी राखेका छौँ,’ वडाध्यक्ष क्षेत्रीले भने । अवशेषसँगै एउटा आइफोन, च्यातिएका अवस्थामा कपडाहरु, स्लिपिङ व्याग लगायत सामग्री समेत भेटिएको उनले बताए ।
क्षेत्रीले घटनाबारे जिल्ला प्रहरी कार्यालय कास्कीलाई जानकारी गराएका छन् । फेला परेको मानिसको हाड, टाउजर र आइफोन स्विडिस नागरिक मिचल लिउ ब्लोम्बर्गको हुन सक्ने अनुमान गरिएको छ ।
तत्काल हिँडेर घटनास्थलसम्म जान पनि कठिनाइ हुन सक्ने देखिएकाले हेलिकप्टरमार्फत जाने कि भन्ने छलफल भइरहेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।
हाड भेटिएको ठाउँ मर्दी हिमाल बेस क्याम्पसको ४ हजार ५ सय मिटर हाराहारीमै रहेको वडाध्यक्ष क्षेत्रीले बताए ।
पदमार्गको लो क्याम्प माछापुच्छ्रे गाउँपालिकाले राखेको सूचना केन्द्रमा नाम दर्ता गराएर शनिबार ४ हजार ५ सय उचाइको बेसक्याम्प गएका मिचल नफर्केपछि होटलले हराएको जानकारी गराएको थियो ।
मर्दीको हाइ बेसक्याम्पको होटल म्याजिक माउन्टेनमा उनी बसेका थिए । उनको पासपोर्ट होटलमै भेटिएको थियो ।
प्रतिक्रिया