माथिल्लो तामाकोशी समयमै ल्याउन उर्जामन्त्री पुन यसरी खट्टिए, मंसिरभित्र ल्याउने उद्घोष

माथिल्लो तामाकोशी समयमै ल्याउन उर्जामन्त्री पुन यसरी खट्टिए, मंसिरभित्र ल्याउने उद्घोष


दोलखा –उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निरीक्षण गरेका छन् । उर्जामन्त्री पुन दोलखाको विगु गाउंपालिकामा निर्माणाधिन ४५६ मेगावाट क्षमता भएको तामाकोशी जलविद्युत आयोजनाको अवस्थाको वारेमा जानकारी लिन शुक्रवार सांझ दोलखा पुग्नुभएको हो । मन्त्री पुनले राष्ट्रिय गौरवको रुपमा रहेको तामाकोशी जलविद्युत आयोजनालाई समयमै ल्याउन पहल गर्दै आएका छन् ।

उहाले शनिवार विहान आयोजनाको बांधस्थल,सुरु¨, माथिल्लो पेनस्टक र तल्लो पेनिस्टकको अवस्थाको बारेमा फिल्डमै पुगेर समेत जानकारी लिनुभयो । मन्त्री पुनले करिव ३ घण्टा आयोजना स्थलकै निरीक्षण गरेर बिताएका थिए । उनले आयोजनाको अनुगमन,निरीक्षण र समस्याको समाधान गर्न र सहजीकरणको लागी आफु प्राधिकरण र आयोजनाका उच्च पदस्थ अधिकारीसहित फिल्डमै आएको बताए ।

उनले आयोजना प्रमुख दिनेशजंग राना र प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठसंग समेत आयोजनाको प्रगतीको वारेमा जानकारी लिनुभएको छ । मन्त्री पुन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिंग, राष्ट्रिय योजना आयोगका सदस्य डा.कृष्ण ओलीसहित आयोजनास्थल पुगेका हुन् । उनले तोकिएको समयमा तामाकोशी जलविद्युत आयोजना ल्याउनुपर्ने भन्दै त्यसमा गम्भिर भएर काम गर्न समेत निर्देशन दिए ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्री पुन आयोजनाको निरीक्षण भ्रमणमा गत वर्ष दोलखा आउनुभएको थियो । उहांले माथिल्लो तामाकोशी जलविद्युत आयोजना समयमै ल्याउन आफु गम्भिरतापूर्वक लागिरहेको बताउंदै आएका छन् ।

यसअघि आयोजनामा समस्या देखिएपछि उहांले उर्जामन्त्रालयका सचिव, प्राधिकरणका कार्यकारी निर्देशक,आयोजना प्रमुख र टेक्सम्याको निर्माण कम्पनीका प्रतिनिधीसंग छलफल गरेर आयोजना तोकिएको समयमै ल्याउन निर्देशन दिनुभएको थियो । मन्त्री पुनले आयोजनाको काम अघि नबढे ठेक्का समेत तोड्ने चेतावनी समेत दिएका थिए ।

उर्जामन्त्री पुनले ४५६ मेगावाट क्षमता भएको माथिल्लो तामाकोशी जलविद्युत आयोजना आगामी मंसिर भित्र सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ । आयोजनास्थलको निरिक्षण भ्रमण सम्पन्न गरिसकेपछि संचारकर्मीसंग शनिवार कुरा गर्दै मन्त्री पुनले आयोजना समय तालिकाभित्रै सम्पन्न हुने दावी गरे । ‘यो निकै महत्वपूर्ण आयोजना भएकाले यसमा हाम्रो गम्भिर चांसो छ, आयोजना समयमै सम्पन्न गर्न र गुणस्तरीय बनाउनको लागी मैले पुरै ध्यान केन्द्रित गरेको छु, म समय तालिकाभित्रै आयोजना पुरा हुनेमा विश्वस्त छु ।’ मन्त्री पुनले भने ।

उनले नेपालीले ठुला आयोजना गर्न सक्दैन भन्ने सोच विगतमा रहेको भन्दै यसबाट नेपालीले ठुला आयोजना बनाउन सक्छन् भन्ने पुष्टि भएको धारणा समेत राखे । मन्त्री पुनले तामाकोशी जलविद्युत आयोजना नेपालकै लागी नमुनायोग्य र महत्वपूर्ण भएको बताए ।

‘केही समयअघि भर्टिकल साफका कारण केही समस्या आएको थियो, हामीले टेक्सम्याक र एन्ड्रिजको विचमा समझदारी बनाईदिएका छौ,अहिले काम अघि बढिरहेको छ । त्यसैले पनि आगामी मंसिरसम्म सवै काम सम्पन्न हुन्छ भन्ने मैले विश्वास लिएको छु । ’ उनले भने ।

आफुले आयोजना प्रमुखदेखी कार्यकारी निर्देशक राखेर सुरुदेखी नै तालिकाअनुसार काम हुनुपर्ने धारणा राखेको मन्त्री पुनको भनाई थियो । ठुला आयोजनामा कहिलेकांही समस्या आउने भएपनि तालिकाअनुसार नैै काम हुने मन्त्री पुनले बताए ।