आफूमाथि गोली प्रहार हुनुअघि प्रहरीलाई यसरी ढाँटेका थिए, घोडाघोडीका मेयरले


धनगढी– २७ फागुनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ‘घोडाघोडी नगरपालिका मेयर ममताप्रसाद चौधरीमाथि जनकारबाही गर्ने’ भन्दै प्रेस विज्ञप्ती जारी गर्यो।

विज्ञप्तिका आधारमा प्रहरीले २८ फागुनमा मेयर चौधरीको सुरक्षाको प्रबन्धका लागि सम्पर्क गर्यो। जवाफमा मेयर चौधरीले भने– ‘म काठमाडौंमा छु।’ प्रहरीले शुरुमा विश्वास गरेन। पुनः मेयरका छिमेकी तथा आफन्तसँग बुझ्न खोजे, तर उनीहरूबाट पनि त्यस्तै, उत्तर पायो।

‘मेयर चौधरीले आफू काठमाडौंमा छु भन्नुभएपछि हामी पनि ढुक्क भयौं’ जिल्ला प्रहरी कार्यालय, कैलालीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा कैलाली प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले भने– तर, अचानक राति सवा आठ बजेतिर उहा ‘माथि उहाँकै घरमा गोली तथा खुकुरी प्रहार भएको खबर पाए।’

आक्रमणको सूचना पाएलगत्तै कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, र सुरक्षा अधिकारीहरू घटनास्थलमा पुगेका थिए ।

मेयर चौधरी घोडाघोडी नगरपालिका, सुखडस्थित आफ्नै घरमै रहेका वेला अपरिचित व्यक्तिहरूले बाहिरबाट ‘काम छ बाहिर आउनुहोस्’ भन्दै बाहिर बोलाएका थिए। प्रहरी उपरीक्षक घिमिरेका अनुसार नगर प्रमुख चौधरी बाहिर निस्कने वित्तिकै आक्रमणकारीहरूले बत्तीको मेनस्विच र ढोका बन्द गरेका थिए। र, उनीहरूले नगर प्रमुख चौधरीको टाउको र खुट्टामा खुकुरीले आक्रमण गर्नुका साथै कम्मरमा गोली प्रहार गरेका थिए।

चार जनाले नगर प्रमुख चौधरीमाथि खुकुरी प्रहार गर्दै गर्दा उनले ‘बचाउ, बचाउ’ भनेर गुहार लगाएका थिए। उनको गुहार सुनेर छिमेकीहरू उनकोे घरतिर आएपछि आक्रमणकारीहरू भागेका थिए।

आक्रमणकारीहरू दुई जना मोटरसाइकलमा आएका थिए। छिमेकीहरू नगर प्रमुख चौधरीको घरतिर आएको देखेर आक्रमणकारीहरूमध्ये दुई जना एउटा मोटरसाइकलमा भागेका थिए। भने दुई जनाले मोटरसाइकल त्यही छोडेर नजिकैको जंगलतिर भागेका थिए। प्रहरीले आक्रमणकारीले प्रयोग गरेको से २ प ३६७१ नम्बरको सुजुकी मोटरसाईकल सोही स्थानमा बरामद गरेको थियो। प्रहरीका अनुसार सो मोटरसाइकल चोरीको हो। प्रहरीले घटनास्थलबाट गोलीको एक खोका बरामद गरेको थियो ।

प्रहरीले बिहीबार नै घटनामा संलग्न भएको आरोपमा पक्राउ गरिएका विप्लव नेकपाका चार जना कार्यकर्तालाई पनि सार्वजनिक गरेको छ। आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले विप्लव नेकपाको भातृ संगठन राष्ट्रिय युवा जनस्वयंसेवक संगठनका अध्यक्ष कमल क्षेत्री (पवित्र), घोडाघोडी नगर सेक्रेटरी भरत शाह, टीकापुर नगर सेक्रेटरी हृदय बोगटी र धनगढी युवा नगर ईन्चार्ज पुर्णप्रसाद खनाललाई पक्राउ गरेको छ।

प्रहरीले शुरुमा टीकापुर नगर सेक्रेटरी बोगटीलाई पक्राउ गरेको तथा उनको बयानका आधारमा अन्य तीन जनालाई पक्राउ गरेको प्रहरी प्रमुख घिमिरेले बताए। प्रहरी उपरीक्षक घिमिरेले गोली र खुकुरी प्रहार गर्ने व्यक्ति अझैं पक्राउ भइनसकेको बताए। ‘पक्राउ परेका व्यक्तिहरू तथा घटनास्थल वरपरका मानिसको बयानका आधारमा आक्रमण गर्ने व्यक्तिको पहिचान खुलिसकेको छ’ उनले भने– छिट्टै उनीहरू पक्राउ पर्नेछन्। प्रहरी प्रमुख घिमिरेले हाल पक्राउ परेका चार जना प्रत्यक्ष रूपमा

घटनास्थलमा नभए पनि सूचना प्रवाह गर्ने कार्यमा संलग्न रहेको बताए। उनले अहिलेसम्म आक्रमण योजनामा संलग्न भएका १३ जनाको नाम खुलिसकेको र अन्यको नाम पनि आउन सक्ने बताए।

यसैबीच, आक्रमण घटनामा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका वडा नम्बर १, नैनादेवी चौकबाट बिहीबार विप्लव नेकपाका कार्यकर्ता सागर देउवा (बिक्रान्त) लाई पक्राउ गरेको जनाएको छ।
प्रहरीले पहिले पक्राउ परेका चार जना विरुद्ध बुधबार ज्यान मार्ने उद्योग अन्तर्गत कैलाली जिल्ला अदालतमा मुद्दा दर्ता गरिसकेको छ। प्रहरी उपरीक्षक घिमिरेले आक्रमण योजनामा संलग्न भएका थप आठ जनाको खोजी भइरहेको बताए।
प्रहरी प्रमुख घिमिरेका अनुसार नगर प्रमुख चौधरीमाथि भएको आक्रमण घटनामा विप्लव नेकपाका कमाण्डरदेखि ईन्चार्ज तथा सेक्रेटरी तहका कार्यकर्ताको संलग्नहरूको पनि संलग्नता रहेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement