अर्थमन्त्री महत र अमेरिकी राजदूतबीच शिष्टाचार भेटवार्ता


काठमाण्डु – अर्थमन्त्री डा. प्रकाशशरण महतसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन्ले शिष्टाचार भेट गरेका छन्।

आज मन्त्रालयमा भएको भेटमा दुई देशबीच सहयोगको दायरा अझ फराकिलो बनाउने विषयमा छलफल भएको थियो । कुन–कुन क्षेत्रमा अमेरिकाले थप अनुदान सहयोग उपलब्ध गराउन सक्छ भन्ने विषयमा मन्त्री डा महत र राजदूत थम्पसन्बीच छलफल भएको मन्त्री डा महतले बताए।

मिलेनियम च्यालेन्जर कर्पोरेशन (एमसीसी) र अमेरिकी सहयोग नियोग (युएसएड) मार्फत अमेरिकाले नेपालमा अनुदान थप्न इच्छुक रहेको तथा नयाँ परियोजनामा लगानी गर्न अमेरिका तयार रहेको भेटपछि मन्त्री डा महतले बताए।

अर्थमन्त्री डा महतले भने, “नेपालको आर्थिक विकासमा अमेरिकी सहयोग महत्वपूर्ण छ, अहिले पनि आर्थिक समृद्धिका लागि नेपालले कुन क्षेत्रमा लगानी खोजेको हो, त्यसमा अनुरोध आओस् भन्ने अमेरिकाले चाहेको छ।”

सो भेटका क्रममा अमेरिकी सरकारको अनुदान सहयोगका लागि मन्त्री डा महतले राजदूत थम्पसन्लाई धन्यवाद दिएका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement