काठमाण्डु– त्रिभुवन विश्वविद्यालयले एमबीए प्रथम सत्रको प्रश्नपत्र लिक भएकोबारे छानबिन गर्न समिति बनाएको छ ।
साउन ८ गते स्नातकोत्तर तहको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको परीक्षा सुरू भएको केही मिनेटमै सामाजिक सञ्जालमा प्रश्न पत्र बाहिरिएको विषयमा छानबिन गर्न समिति बनाइएको हो ।
त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय डीनको कार्यालय, परीक्षा सञ्चालन समितिले समिति बनाएको छ । प्रा.डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । जसमा अनुगमन निर्देशनालयका उप निर्देशक सह प्रा.डा पुष्कर रैखला र केन्द्रीय परीक्षा संचालक समितिका सदस्य सह प्रा.डा महेशराज ओझा सदस्य छन् ।
७ कार्यदिन भित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ।
यस्तैमा प्रश्नपत्र आउट गर्ने दुई जनालाई साइबर ब्युरोले नियन्त्रणमा लिएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयले जानकारी दिएको छ।
प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग गएराति नै छलफल गरी सम्बन्धित निकायलाई निर्देशन दिएका थिए। त्यसलगत्तै प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्तिलाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएको हो।




प्रतिक्रिया