माओवादी केन्द्रमा बावु–छोरी नै चुनावमा उम्मेदवार


गोकर्ण दयाल,  बैतडी– नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं पूर्व सभासद रेणु चन्द बैतडीबाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवार छनौट हुनु भएको छ । संयोग नै मान्नुपर्छ उहाँका बुवा गोपाल चन्द पनि प्रदेशसभाका लागि प्रत्यक्षतर्फ उम्मेदवार छनौट हुनुभएको छ ।  

 

 

माओवादी केन्द्रको बैतडी जिल्ला कमिटीको बैठकले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवारको टुङ्गो लगाएको हो ।

 

 

 

जिल्ला कमिटिको बैठकले  प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पूर्वसभासद एवं पार्टी जिल्ला इन्चार्ज नरेन्द्र कुंवर (विजयसुन्दर) लाई अघि सारेको छ । त्यसैगरी प्रदेशसभाका लागि क्षेत्र नंं १ बाट प्रत्यक्षतर्फ प्रेमप्रकाश भट्ट ( आदित्य) छनौट हुनुभएको छ । त्यसैगरि प्रदेशमा समानुपातिक तर्फ भुवन चन्द्र विश्वकर्मा ( शान) र राष्ट्रियसभाका लागि अक्कल कुँवर (अटल) लाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

 

 

 

 

  क्षेत्र नंं २ बाट प्रदेशसभाका लागि प्रत्यक्षतर्फ गोपाल चन्द ( चन्दन) र प्रतिनिधिसभामा समानुपातिक तर्फ पोलिटब्युरो सदस्य रेणु चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको जिल्ला नेता बिक्रम कुँवर   ( प्रतिक) ले बताउनुभयो । संयोगले रेणु चन्द र गोपाल चन्द बुवा छोरी एउटै निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्न पुगेका छन् ।

 

 

 

   निर्वाचन क्षेत्रका हिसाबले १ नं. बाट चार जना र २ नं. बाट दुई जना नेता उम्मेदवार छनौट भएका छन् ।  यस अघि प्रतिनिधिसभामा दुई वटा निर्वाचन क्षेत्र रहेको बैतडी जनसंख्या नपुग्दा एउटा निर्वाचन क्षेत्रमा सिमित भएको छ । प्रदेशसभामा भने २ वटा निर्वाचन क्षेत्र नै कायम भएको छ ।

 

 

उम्म्दवार छनौटपछि आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पार्टीले चुनाबी प्रचार अभियान तिब्र बनाउने तयारी गरेको प्रदेशसभाका लागि समानुपातिक उम्मेदवार छनौट हुनुभएका नेता भुवनचन्द्र विश्वकर्माले जानकारी दिनुभयो ।
 

प्रतिक्रिया दिनुहोस
Advertisement