माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै : अर्थमन्त्रीबारे निर्णय हुने


काठमाण्डु — नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडांडामा बैठक दिउंसो ३ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा तत्कालिन अर्थमन्त्री जनार्दन शर्मालाई पुन पठाउने वा अर्को व्यक्तिलाई पठाउनेबारे निर्णय हुनेछ । संसदीय छानविन विशेष समितिबाट शर्माले क्लिन चिट पाइसकेका छन् ।

माओवादीमा अर्थमन्त्रीका दावेदार रहेका वर्षमान पुन, शक्ति बस्नेत र देव गुरुङले समेत सार्वजनिक रुपमा शर्माले नै उक्त जिम्मेवारी पाउनुपर्ने धारणा राखिरहेका छन् । त्यसैले शर्मा अर्थमन्त्रीमा फर्कने सम्भावना बलियो रहेको माओवादी स्रोत बताउंछ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवाले शर्मालाई नै अर्थमन्त्रीको रुपमा पठाउन चाहेका छन् । तर, देशभित्र र अन्तर्राष्ट्रिय समुदायको भने अर्थमन्त्रीमा शर्मालाई नपठाउन दबाव छ ।

माओवादी केन्द्रको आजको बैठकमा स्थायी कमिटी र पोलिटव्युरोको पूर्णताबारे समेत छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement